काठमाडौं– वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन वैदेशिक रोजगार विभाग र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
आइतबार गृहसचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुसालबीच सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
वैदेशिक रोजगारीका नाममा हुनसक्ने ठगी रोक्न वा शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको हो। रोजगारका नाममा हुनसक्ने मानव बेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न सहकार्यको आवश्यकता महसुस गरी सम्झौता गरिएको महानिर्देशक भुसालले बताए।
पीडितको संरक्षण तथा पुनर्स्थापना गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागसँग सहकार्य गर्न तयार रहेको प्रहरी अधिकारीहरुको धारणा छ। यस समझदारीबाट गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वयमा थप सहज हुने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।