काठमाडौं- धनुषामा टिपरले किचेर हत्या गरिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले त्यसतर्फ गएको छ। आयोगले प्रदेश २ कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको हो।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले घटनाको सन्दर्भमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ। ‘धनुषाको मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियन्ता एवं मानव अधिकार रक्षक ओमप्रकाश महतोको २०७६ पुस २५ गते धनुषाको औरही खोलामा ट्रिपरले टाउकोमा कुल्चाएर हत्या भएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
आयोगले यस घटनाबाट वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लंघन भएको बताएको छ। ‘स्वच्छ वातावरणको अधिकार मानव अधिकारको महत्वपूर्ण विषय हो। वातावरणको अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ,’ आयोगले स्मरण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।