काठमाडौं- डेढ वर्षअघि ठूलै हो-हल्लाका साथ घोषणा गरियो, ‘अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता एकसाथ फिल्ममा डेब्यु गर्दै छन्।’
फिल्मको नाम थियो- ‘एउटा यस्तो प्रेम कहानी।’ प्रोड्युसरको सूचीमा शिव स्वयंको नाम थियो। उनी भनिरहेका थिए, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो।’ फिल्ममा आफ्नै छोरालाई डेब्यु गराउन उनले आफैं लगानीकर्ता जुटाएका थिए। भव्य तामझामसहित फिल्मको घोषणा भएको थियो। फिल्मको शुभमुहूर्तमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई ल्याइएको थियो, प्रमुख अतिथि बनाएर।
घोषणाताका शिव र करिष्माको आत्मविश्वास देख्दा लाग्थ्यो- ‘स्टार किडको यो फिल्मले बजारमा तहल्का मच्चाउने छ।’
तर, तहल्का त परको कुरा, अहिले आएर फिल्म बन्ने/नबन्नेमैं अन्योल देखिएको छ। फिल्मको निर्माण ‘अलपत्र’ छाडेर शिव स्वयं अन्य फिल्ममा अभिनय गर्न व्यस्त छन्। आफ्नै फिल्मबाट डेब्यु गराउने घोषणा गरेका छोरा शक्तिलाई समेत उनले आफूसँगै फिल्म ‘लप्पनछप्पन-२’मा अभिनय गराइसके।
९ महिनाअघि निर्माण घोषणा भएको ‘लप्पनछप्पन-२’ को ट्रेलर रिलिज भइसक्यो। फिल्म वैशाखमा रिलिज हुने घोषणा समेत भइसक्यो तर ‘एउटा यस्तो प्रेम कहानी’ भने एउटा तितो फिल्मको कहानीमै सीमित हुने देखिएको छ।
कहाँ पुग्यो फिल्मको काम भनेर निर्देशक दीपेश सापकोटासँग प्रश्न गर्दा उनी तनावको अवस्थामा देखिए। ‘फिल्मको पचास प्रतिशत बढी काम भइसक्यो तर त्यसपछि काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘खोई किन हो, काम अघि बढ्न सकिरहेको छैन, कारण म आफैंले बुझ्न सकेको छैन। निर्माताहरु धेरै भएकाले मनमुटाव हुनसक्छ तर यही कारण फिल्म रोकिनु पक्कै राम्रो होइन।’
यसअघि ‘मन्दिरा’ निर्देशन गरेका सापकोटालाई अहिले धेरैले सोध्छन्- ‘कहाँ पुग्यो तिम्रो फिल्म?’ उनीसँग त्यसको प्रष्ट जवाफ छैन। ‘हुँदै छ भनुँ भने, केही हुनसकिरहेको छैन। नबन्ने भो भनुँ भने निर्माताले त्यस्तो घोषणा पनि गर्नुभएको छैन,’ उनले भने, ‘यो फिल्म नसकी अर्को फिल्ममा हात हाल्न पनि मिलेन, त्यसैले मलाई आएका एक-दुई वटा फिल्मका अफर पनि लत्याउनुपर्यो। तैपनि निर्माताले फिल्मको काम अघि बढाइरहेका छैनन्। यसरी त मेरो करिअरमै धक्का पुग्ने भयो।’
यस्तो छ भित्री कथा
यो फिल्ममा खासगरी करिष्माको छोरी र शिवको छोराको प्रवेश करिब ८० प्रतिशत छायांकन सकिएपछि भएको हो। सुरुमा यो फिल्ममा फिल्म क्षेत्रका दुई रियल जोडी प्रियंका कार्की-आयुष्मान देशराज जोशी र वर्षा राउत-सन्जोग कोइरालामात्रै प्रमुख भूमिकामा थिए।
उनीहरुलाई लिएर फिल्मको करिब ८० प्रतिशत छायांकन सकिइसकेको छ। मात्रै क्लाइमेक्सको केही एक्सन सिन र गीत छायांकन गर्न बाँकी थियो। त्यति नै बेला फिल्मका निर्मातामध्ये एक शिव श्रेष्ठले निर्देशकसँग अनौठो प्रस्ताव गरे, ‘अब यो फिल्मको रि-सुटिङ गरौँ। फिल्ममार्फत मेरो छोरालाई डेब्यु गराऔं।’
फिल्म छायांकनमा अन्त्यमा आएको यो प्रस्तावले निर्देशक हच्किए। तर, सबै निर्माता शिवका पक्षमा थिए, त्यसैले उनको केही लागेन। फिल्म रि-सुट गर्न उनी तयार भए। फिल्ममा शिवकै कथा थियो। त्यो पनि परिवर्तन गरियो।
आफ्नै ब्यानरबाट छोरीलाई डेब्यु गराउने सोच बनाइरहेकी करिष्मा पनि शिवको फिल्ममार्फत छोरीलाई फिल्म क्षेत्रमा भित्र्याउन तयार भइन्। त्यसपछि हतारहतार फिल्म टिजर रिलिज कार्यक्रम आयोजना भयो, जहाँ मिडियालाई शक्ति र कविता यो फिल्ममार्फत डेब्यु हुने नयाँ खबर दिइयो।
तर, रोचक चाहिँ के थियो भने कार्यक्रममा सार्वजनिक भएको टिजरमा यी दुई स्टार किडको अनुहार थिएन। होस् पनि कसरी, फिल्मको ८० प्रतिशत छायांकन सकिँदासम्म उनीहरु फिल्ममा आबद्ध हुने चर्चै थिएन।
त्यसपछि शक्ति र कवितालाई लिएर फिल्मको पुनःछायांकन सुरु पनि भयो। निर्देशकका अनुसार फिल्मको करिब आधा भाग काम सकियो पनि। तर, त्यसपछि रोकिएको काम अहिलेसम्म सुचारु हुन सकेको छैन।
अहिले यो फिल्मको चर्चा पनि फिल्मवृत्तमा सेलाइसकेको छ। रिलिजका हिसाबले शिवका छोरा शक्तिको यो डेब्यु फिल्म नहुने पनि अहिले पक्काजस्तै देखिएको छ। आइतबारमात्रै यो फिल्मको निर्माता शिव श्रेष्ठ ‘प्रेम गीत-३’को सुटिङका लागि मनाङ पुगेको खबर छ।। यसले पनि संकेत गर्छ, उनी यो फिल्म बनाउने मुडमा अझै छैनन्।
फिल्मको मुख्य लगानीकर्ताका रुपमा चिनिएकी यशोदा राईलाई फिल्मको काम कहाँ पुग्यो भनेर सोध्दा उनी सम्पादनको काम भइरहेको बताउँछिन्। उता निर्देशक काम रोकिएर तनावमा छन् तर यशोदा भन्छिन्, ‘त्यत्रो पैसा लगानी भइसकेको छ,फिल्म नबन्ने त कुरै हुँदैन। अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ। अर्को वर्ष रिलिज होला कि!’
निर्देशक सापकोटाका अनुसार यो फिल्मका लागि हालसम्म करिब एक करोड बढी लगानी भइसक्यो। आशा गरौँ, शिवको ‘ड्रिम प्रोजेक्ट’माथि गरिएको लगानी यत्तिकै बालुवामा पानी नहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।