जनकपुर- टिपरले किचेर हत्या गरिएका नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीप महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कारबाहीको माग गर्दै आइतबार धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ।
ढल्केवरका स्थानीय समाजसेवी, अधिकारकर्मी, राजनीतिकर्मी र बिद्यार्थीहरुले संयुक्त रुपमा र्याीली निकालेर प्रदर्शन गरेका हुन्। र्या्लीका क्रममा विभिन्न नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेका सहभागीहरुले ढल्केबर नगरपक्रिमा गरी दिलीपका हत्यारालाई हदैसम्मको कारबाहीको माग गरेका हुन्।
धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो (ओमप्रकाश) लाई शुक्रबार बिहान टिपरले किचेर हत्या गरिएको थियो।
उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन गर्ने माफियाहरुले रडले घोचेर घाइते बनाई खोलामा लडाएपछि टिपरले किचेर हत्या गरेका थिए ।
दिलीप अवैध उत्खनन रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए। उनी २ वर्षदेखि वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्दै आएका थिए।
प्रहरीले हत्या आरोप तथा अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरी शनिबार राति साढे ८ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।
दिलीपको दाहसंस्कार
टिपरले किचेर हत्या गरिएका दिलीपको शनिबार राति दाहसंस्कार गरिएको छ।दिलीपको हत्या गरिएको घटनास्थलनजिकै उनको दाहसंस्कार गरिएको भाइ जितेन्द्र महतोले जानकारी दिए। दिलीपलाई उनका ७५ वर्षीय हजुरबुबा रामपृत महतोले दागबत्ती दिएका थिए।
दिलीपको अन्त्येष्टिमा सयौं गाउँले सहभागी थिए। प्रादेशिक अस्पताल जनकपुरमा शवको पोस्टमार्टमपश्चात शनिबार अबेर परिवारजनले शव बुझेका थिए। शनिबार राति नै उनको हत्या भएकै खोलामा लगेर दाहसंस्कार गरिएको छ।
भारतको भोपालमा इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका दिलीप दुइ साताअघि बिदामा घर आएका बेला हत्या भएको हो। गाउँका होनहार युवा दिलीपको हत्याले अहिले श्रीपुर सिंगै गाउँ नै शोकमा डुबेको छ।
ढल्केबरका इन्चार्जलाई जिल्ला प्रहरीमा तानियो
.jpg)
दिलीपको शव बिना मुचुल्का उठाएका इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका इन्चार्ज इन्स्पेक्टर रामकुमार यादवलाइ जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको छ।
इन्स्पेक्टर यादवले ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने कार्य गरेको स्थानीयले आरोप लगाउँदै आएका छन्।
यादवलाई आइतबार जिल्ला तानिएको भए पनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले प्रहरीभित्रकै आन्तरिक कारणले जिल्ला बोलाएको बताए।
इन्स्पेक्टर यादव मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख हँदा पनि तस्करसँग ‘सेटिङ’ मिलाएर सीमावर्ती क्षेत्रमा तस्करी चलाएको आरोपमा कारबाही भोगिसकेका छन्। त्यहाँ रहँदा उनले तस्करहरुसँग मासिक रुपमा पैसा लिएर लागुऔषध ओसारपसारदेखि दैनिक उपभोग्य सामग्रीसमेत नेपाल ल्याउन र भारततर्फ लैजाने व्यवस्था मिलाएको आरोप लागेको थियो। उनी राजपा नेता राजकिशोर यादवका भाइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।