नयाँ दिल्ली- पछिल्लो फिल्म पद्यावतका कारण भाजपा र हिन्दूवादी युवासँग लामो विवादमा फसेकी बलिउड मस्तानी गर्ल दीपिका पादुकोण फेरी विवादमा तानिएकी छन्।
यस पटक पनि उनी सत्तासँग विवादमा परेकी हुन्। जावहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरूको आन्दोलनमा सर्मथन जनाएपछि दीपिकामाथि भारतीय जनता पार्टी र हिन्दू संगठनहरू चर्को विरोधमा उत्रेका छन्।
आफ्नो नयाँ फिल्म ‘छपाक’ सार्वजनिक हुनुअघि जेएनयू पुगेकी उनी अहिले अदालतदेखि कार्यकतासम्मको निसानामा परेकी छन्। फिल्म पद्यावत सार्वजनिक हुने समयमा पोस्टर र कथामा विवाद हुदाँ नामै परिवर्तन गरी पद्यावत राख्नु परेको थियो।
यस पटक पनि उनको आलोचनामा भाजपा उत्रेको छ। शनिबार मात्रै भारतीय जनता पार्टीका नेतृ स्मृति इरानीले दीपिकाको चर्को आलोचना गरिन्। पूर्वमन्त्रीसमेत रहेकी इरानीले दीपिकाले जेएनयूका विद्यार्थीको सर्मथन गरेको विरोधमा टिप्पणी गर्दै गोप्य अङ्गमा प्रहार गर्नेहरूको सर्मथनमा दीपिका उत्रनु गलत भएको टिप्पणी गरेकी हुन्।
यसलगत्तै दीपिकाको फिल्ममाथि दिल्ली हाइकोर्टले प्रर्दशनमा रोक लगाउने आदेश गरेपछि पुनः उनी विवादित बनेकी हुन्। कपिराइट नदिएको दाबीसहित दायर भएको मुद्दामा हाइकोर्टले यस्तो आदेश गरेपछि उनी थप तनावमा परेकी हुन्। यसअघि पद्यावतमा पनि उनी पटक पटक अदालतको आमुन्नेसामुन्ने हुनुपरेको थियो।
यसरी विवादमा परिरहेकी उनीमाथि अर्को आपत् पनि आइलागेको छ। हिन्दूवादी संगठन दीपिकाको फिल्म उत्तर प्रदेशको अलीगढमा चल्न नदिने भन्दै विरोधमा उत्रेका छन्। उनीहरुले शहरमा पोस्टर टाँसेर स्क्रीनिङ्ग (प्रर्दशन) हुन नदिने बताएका छन्। समाचार संस्था 'द वायर'का अनुसार यसरी शहरमा टाँसिएको तस्विरमा ठुला ठुला अक्षरले ‘चेतावनी’ लेखिएको छ। उनीहरुले फिल्म हलमा देखाउने प्रयास गर्नेले आफ्नो बिमा गराउन चेतावनीसमेत दिएका छन्।
सो पोस्टरमा ‘न हेरिन्छ, न हेर्न दिइन्छ' अर्थात् ‘ना देखुंगा, ना देखने दुंगा’लेखेर टाँसिएको छ। यसरी दीपिकामाथि खनिनुको एउटै कारण जेएनयूमा भएको हिंसामा एकतर्फी सहानुभूति देखाएको उनीहरूको आरोप छ। पोस्टरको अन्तिममा ‘अखण्ड भारत हिन्दू सेना’ र दीपक शर्माको नाम र तस्बिर छापिएको छ।
पोस्टरमा 'दीपिका पादुकोणले राष्ट्रवादको अनुहारमा तेजाब फ्याँकेकी छन्' लेखिएको छ। त्यस्तै छपाकको फिल्म प्रर्दशन रोक्ने अभियानमा समाजवादी पार्टीका सदस्यले समेत साथ दिएका छन।
दक्षिणपन्थी संगठनहरूले दीपिकाको फिल्मको पोस्टर पनि च्यातेका छन्। -एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।