काठमाडौं– यूक्रेनी विमान खसालेको विरोधमा इरानको राजधानी तेहरानको सडमा इरानविरुद्ध प्रदर्शन भएको छ। प्रदर्शनकारीको आक्रोश खासगरी यूक्रेनी यात्रुवाहाक विमानलाई नोक्सान नपुर्याउने प्रतिवद्धता जनाउने अधिकारीविरुद्ध छ।
शनिबार इरानको सेनाले ‘भुलवश’ युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको थियो। इरानका राष्ट्रपति हसन रुहानी र विदेशमन्त्री जावेद जरीफले ‘मानवीय त्रुटि’ले विपत्ती निम्त्याएको भन्दै माफी मागेका थिए।
तेहरानका विश्वविद्यालय बाहिर भएका प्रदर्शन रोक्न अश्रुग्याँस समेत प्रयोग गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै प्रदर्शन ‘प्रेरक’ भएको बताएका छन्।
१ सय ७६ नागरिकको ज्यान जाने गरी गत बुधबार भएको दुर्घटनामा मारिनेहरुमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सले तेहरानमाथि राति आकाशमा क्षेप्यास्त्रको उज्यालो अघि बढ्दै गरेको र विमानसँग ठोक्किएर विस्फोट भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेपछि इरानमाथि शंकाको तीर सोझिएको हो।
त्यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान ठानेर प्रहार गरेको हुन सक्ने दाबी गरेका थिए। विभिन्न पश्चिमा देशका नेताहरुले इरानमाथि विमान खसालेको आरोप लगाएका थिए।
संयुक्त राष्ट्रसंघले पनि युक्रेनी विमानबारे पूर्णरुपमा अनुसन्धान होस् भन्ने अपेक्षा राखेको थियो। तर, इरानले भने सुरुमा त्यस्ता आरोपहरुको खण्डन गरेकाे थियाे। इरानी अधिकारीहरुले त्यस्ता आरोपलाई ‘हास्यास्पद’ भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।