जनकपुर- अवैध खोला उत्खनन विरुद्धको अभियानी दिलिप महतोको टिपरले किचेर हत्या गरिएको करिब ३६ घण्टा पछि पोष्टमार्टम गरिएको छ।
प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकको टोलीले करिब ३ घण्टा लामो समय लगाएर दिलीपको शवलाई पोस्टमार्टम गरेको हो।
घटना पश्चात प्रहरीले घटना स्थलको प्रकृति मुचुल्का नगरी शव उठाएको हुँदा दिलिपका परिवारजन तथा स्थानीयले चित्त बुझ्दो मुचुल्का नगरिए सम्म पोष्टमार्टम हुन नदिने अडान पछि धनुषाका एसपी रमेश बस्नेतको पहलमा कागजी प्रक्रियामा मृतक परिवारको चित्त बुझाएर पोष्टमार्टम गरिएको हो।
पोस्टमार्टममा शवको एक्स-रे र सिटीस्क्यान समेत गरिएको छ।
गम्भीर एवं संवेदनशील घटना भएकाले बढी समय लगाएर हरेक अंगभाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुले बताए।
पोस्टमार्टम पश्चात दिलीपको शवलाई परिवारको जिम्मा लगाइएको छ। दिलिपको शव अहिले परिवारजनले बुझेर लगेको छ।
दिलिपको दाजु विरेन्द्र महतोले अहिले राति नै दाहसंस्कार गरिने बताए। उनले भने, ‘दिलीपको शवलाई उनलाई हत्या भएकै स्थानमा अन्त्येष्टि गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।