जनकपुर- अवैध बालुवा गिट्टी उत्खननविरुद्धका अभियान्ता ओमप्रकाश महतो (दीलिप)लाई टिपरबाट किचेर हत्या गरेको आरोपमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरेको छ। धनुषाको मिथिला नगरपालिका-५, श्रीपुर निवासी २४ वर्षीय महतोको हत्या शुक्रबार टिपरले किचेर गराइएको थियो।
पीडित परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराएका छन्। यद्यपि, परिवारका सदस्यहरूले घटनास्थलको मुचुल्का नउठाएकोमा भने शंका व्यक्त गरेका छन्। दोषीमाथि कडा कारबाही नभए आन्दोलन गर्ने चेतावनी दिएका स्थानीयले शवको पोस्टमार्टम गर्न समेत मानेका छैनन्। हत्या आरोपमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरेको छ।
शनिबार साँझ लोडर चालक महोत्तरीको बर्दिबास बिजलपुराका २२ वर्षीय जितेन्द्र कुमार महतोसमेतलाई गरी ४ जनालाई पक्राउ गरिएको ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।
शनिबार नै प्रहरीले बिहान चुरीयामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई जनकपुरबाट पक्राउ गरेको थियो।
टिपर चालक बर्दिवासका ३४ वर्षीय मुनिन्द्र महतो र घटनाको बेला प्रत्यक्षदर्शी तथा दीलिपसंगै रहेको बताइएको ढल्केबरका रोशन यादवलाई पनि पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दा चलाउने तयारी
दीलिपलाई जानीजानी टिपरले किचेको विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताएको छ। तर प्रहरी पनि दुर्घटना भएका कारण मात्र दीलिपको मृत्यु भएको भन्ने दाबीसँग सहमत देखिँदैन। प्रदेश २ का प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले खोलामा टिपरले ठोक्किएर मृत्यु भएको भन्ने कुरामा विश्वास गरिहाल्न नसकिने बताए।
‘टिपरले पिच सडकमा तीव्र गतिमा कुदाउने हुँदा बढी दुर्घटना गर्ने र मान्छे मर्ने हुन्छ। तर, खोलामा टिपरले ठोक्किएर मान्छे मर्यो भन्नु सरासर झुटो हो। खोलामा त टिपर हाई स्पीडमा नहुनु पर्ने, अगाडि आउँदा रोक्न पनि सकिन्छ तर खोलामा मान्छेलाई टिपरले किच्नु भनेको जानीजानी टिपर प्रयोग गरेर मान्छे मारिएकै हो।’डिआइजी कार्कीले दोषीलाई कडा कारबाही हुने बताए। उनले भने, ‘सवारी ज्यान मुद्दा हैन, कर्तव्य ज्यानमै मुद्दा चलाइनेछ।’
डिआइजी कार्कीको निर्देशनमा इलाका प्रहरी कार्यालय ढल्केबरले हेरिरहेको यो मुद्दा शनिबारदेखि जिल्ला प्रहरी कार्यालय धनुषाले हेर्न थालेको छ।
शुक्रबार पक्राउ परेका टिपर चालक मुनिन्द महतोलाई पनि इलाका प्रहरी कार्यालय, ढल्केबरबाट जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा स्थानान्तरण गरिएको छ।
धनुषा प्रहरीका प्रमुख एसपी रमेश बस्नेतका अनुसार पीडित परिवारको जाहेरी पछि अनुसन्धानको दायरलाई फराकिलो बनाइएको छ। उनले जाहेरीमा किटानी हुने सबै आरोपीलाई पक्राउ गरेर घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए।
पीडित परिवारले घटनास्थलको मुचुल्का नउठाइएको भन्दै प्रहरीप्रति नै शंका गरेका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका ईन्चार्ज प्रहरी निरीक्षकलाई यो जिज्ञासा राख्दा उनले भने, ’घटनाको अवस्था स्थानीयमा रहेको आक्रोश देखेर लासको राजनीति हुन सक्ने र विवाद बढ्न जान्छ कि भनेर शव उठाइएको हो।’ उनले अस्पताल पुगेर सबै प्रकृया पूरा गरेको बताए।
.jpg)
रोकियो पोस्टमार्टम शुक्रबार मृत्यु भएका दिलिपको शवको पोस्टमार्टम अझसम्म हुन सकेको छैन। शव शुक्रबारदेखि नै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
मृतकका परिवारजनले प्रहरीको मुचुल्का र कानुनी प्रक्रिया नै गलत भएको भन्दै त्यो नसच्याएसम्म पोस्टर्माटम हुन नदिने अडान लिएपछि पोस्टमार्टम रोकिएको हो।
शुक्रबार बिहान औरही खोलामा अवैध उत्खनन हुन थालेपछि रोक्नका लागि दिलिप त्यसैतर्फ गएका थिए। सोही क्रममा टिपरले खोला किनारमा नै किच्दा उनको मृत्यु भएको थियो।
मृतकका परिवारजनले मृत्यु भइसकेको व्यक्तिको शव गाउँले र आफन्तहरुको बिना उपस्थिती हतारहतारमा उठाएर प्रहरीले गल्ती गरेको र त्यो नसच्याएसम्म पोस्टमार्टम हुन नसक्ने बताएका छन्। मृतकका दाजु वीरेन्द्र महतोले भने, ‘मृत्यु भइसकेको मान्छेको शव उठाउन प्रहरीलाई यति धेरै हतारो किन? घटनास्थलमा केही प्रमाण थिए होला, प्रत्यक्षदर्शीको बयान पनि लिइएन। यो गलत छ।’
वीरेन्द्रको अनुसार प्रहरी मुचुल्कामा सामान्य किसिमले गाडीको ठक्करबाट दिलीपको मृत्यु भएको भन्ने कुरा उल्लेख गरिएको छ। उनले भने, ‘भाइमाथि भएको कुटपिटको कुरा उल्लेख छैन। प्रहरीले अपराधीलाई बचाउन खोजेको जस्तो देखिन्छ हामी त्यसो हुन दिँदैनौँ।’
उनीहरुले मुचुल्का नउठाई शव उठाउनुले प्रहरी प्रमाण नष्ट गर्ने अभियानमा लागेको र हत्या ठेकेदार र प्रहरी प्रशासनकै मिलेमतोमा भएको आरोप लगाएका छन्।
मिथिला नगरपालिका-५ (घटना भएको क्षेत्र) का वडाध्यक्ष श्यामबाबु यादवका अनुसार शुक्रबार बिहान ४ बजे दिलीपले फोन मार्फत उत्खनन रोक्न खोज्दा आफूमाथि कुटपिट भएको र छिटो आउन आग्रह गरेको बताएका थिए। तर, प्रहरीको मुचुल्कामा कुटपिटबारे उल्लेख नभएको र गाडीको ठक्करबाट दुर्घटनामा मृत्यु भए जसरी पोस्टमार्टम गराउन खोजेपछि आफूहरु सहमत नभएको परिवारले बताएका छन्।
.jpg)
छोरालाई ईन्जिनियर बनाउने सपना देखेका दिलीपका आमाबुबा चन्द्रकला देवी घटनापश्चात् अहिलेसम्म बेहोस अवस्थामै छन्। परिवारका कुनै पनि सदस्य बोल्न सक्ने अवस्थामा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।