लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।
लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र विश्व सम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी र स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन, संस्कृति तथा खेलकुदमन्त्री नुरीया फ्लोरेस रेडोन्डोको सहभागितामा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो।
यसैगरी स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशन र रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका केहि नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ।
लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग रुपन्देहीको देवदह नगरपालिका प्रमुख हीराबहादुर केसी, नवलपरासीको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तुको कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठ, रुपन्देहीको मायादेवी गाउँपलिका प्रमुख ध्रुवनारायण चौधरी, गैँडहवा गाउँपालिका प्रमुख बच्चुलाल केवट, शुद्धोधन गाउँपालिका प्रमुख निसार अहमद खानले भगिनी सम्बन्धमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले भगिनी सम्बन्ध विस्तारले दुवै देशको कूटनीतिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। लुम्बिनीलाई आकर्षक पर्यटकीयस्थलको रूपमा विकास गर्ने तयारी भइरहेका बेला भएको हस्ताक्षर पर्यटन प्रवर्द्धनमा र एक अर्को देशको संस्कृति आदान–प्रदानमा महत्वपूर्ण सावित हुने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले दुई देशका सास्कृतिक नगरपालिका बीच भएको भगिनी सम्बन्धले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरे। उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार तथा प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गरे।
काथेरेस नगरपालिकाका प्रमुख लुइसले पहिलो पटक भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे। बुद्ध जन्मस्थलमा आएर लुम्बिनी सांस्कृतिक नगरसँग भगिनी सम्बन्धमा हस्तारक्षर गर्न पाउँदा आफुलाई निकै खुशी लागेको बताउँदै उनले यसबाट संस्कृति आदानप्रदानमा टेवा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।