बेरुत- संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक सङ्कटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको लेबनानको राष्ट्रिय समाचार संस्थाले शुक्रबार जनाएको छ।
युनिसेफले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘लेबनानमा साना बालबालिकाहरूलाई आर्थिक सङ्कटको प्रभावबाट जोगाउन स्थानीय र अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र विभिन्न समाजले कडा परिश्रम गर्नुपर्छ।’
विशेषगरी गरीब परिवारमा बस्ने बालबालिकाहरूले आर्थिक गिरावटका कारण व्यापक चुनौतीहरूको सामना गरेको विज्ञप्तिमा उल्लेख छ।
गरिबीले बालबालिकाको आहार, शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुका साथै उनीहरूको मनोभावना तथा भावनात्मक तथा सामाजिक परिपक्वतालाई असर गर्ने यूनिसेफको भनाइ छ।
लेबनानमा पछिल्लो तीन दशकदेखि कायम राजनीतिक अस्थिरताका कारण केही वर्षयता चरम आर्थिक सङ्कट देखिएको र स्थानीय तथा बहुर्राष्ट्रिय कम्पनीहरूमा समेत यसको प्रभाव पर्दा श्रमिकहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाइरहेका छन्।
यसले कतिपय परिवारले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत छोडेका वा सस्तो विद्यालयको खोजीमा अत्याधिक भार भएका सार्वजनिक विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।