वासिङ्टन- इराकी प्रधानमन्त्रीले वासिङ्टनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने‚ ‘यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन। वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ।’
उनले भने‚ ‘अमेरिकाले अहिले सेना फिर्ता बोलाउने विषयमा छलफल गर्दैन। तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने भन्ने विषयमा सरसल्लाह हुनसक्छ।’
अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित ६ जनाको मृत्यु भएको थियो।
यस विषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ। तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन।
सुलेमानीको हत्याको बदला भन्दै इरानले इराकस्थित अमेरिकी सैनिक शिविरमा बुधबार हवाइ आक्रमण गरेको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।