तेहरान- इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको भन्ने अमेरिकाको दाबीलाई खण्डन गरेको छ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिले नै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दाबी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दाबी ‘गलत’ रहेको इरानले बताएको छ।
इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान सुरू गर्ने बताएको छ।
यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १ सय ७६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो।
तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।