काठमाडाैं- संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ।
भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय उर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका छन्। उनले अहिले नेपालमा उर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको उल्लेख गरे। मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीका लागि आग्रह गरे।
नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य उर्जाको हुने उल्लखे गरे। मन्त्री पुनले वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युत्सँगै सौर्य उर्जाका लागि पनि उपयुक्त स्थान भएको स्पष्ट पारे।
सरकारले सौर्य उर्जाको विकासका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उनकाे भनाइ थियो। भेटमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय उर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव गरेका छन्। उनले नवीकरणीय उर्जाको बजार विस्तारमा लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक उर्जा र संघबीच सहकार्य गर्न सकिने बताए।
जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य उर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकामा सराहना गरे। महत्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य उर्जा प्रवर्द्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।