काठमाडौं– आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुने भएको छ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले बिहीवार नाम फिर्ता लिएका थिए। उम्मेदवारले नाम फिर्ता लिने समय आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकाे छ। मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ। संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। स्थायी सदनका रूपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।