काठमाडौं– प्रदेश ३ को राजधानी विवाद झन पेचिलो मोडमा प्रवेश गरेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय र अध्यक्षद्वयकाे निर्देशनपछि पनि प्रदेश सांसदहरु तयार नभएपछि यो मुद्दा थप पेचिलो भएको हो।
तीन दिनदेखि चलेको प्रदेश ३ को संसदीय दलको बैठक र प्रदेशसभा बैठकमा सांसदहरु हेटौंडाको विपक्षमा देखिएपछि निकास निस्कन नसकेको हो। नेकपा ३ नम्बर प्रदेश संसदीय दलको बैठक बिहीबार प्रदेशको नाम र स्थायी राजधानीबारे निर्णय गर्न दुई पटक बस्याे। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बैठकमा असन्तुष्ट सांसदहरुले हेटौंडाको विकल्प नै खोजी हुनुपर्ने जिकीर गरे।
उक्त बैठकमा असन्तुष्ट सांसदहरुले हेटौंडासहित अर्को स्थानलाई पनि राजधानी बनाउन उल्टै प्रस्ताव पेश गरेका थिए। उनीहरुले काभ्रे वा अन्यलाई दोस्रो राजधानी बनाउन प्रस्ताव गरेपछि यो विवाद झन लम्बिने देखिएको छ। हेटौंडामा रहेका नेकपाका प्रदेश सचेतक रामेश्वर फुयाँलले प्रदेश राजधानीको निर्णय केही दिनपछि हुने बताए। ‘अहिले छलफल चलिरहेको छ। सांसदहरुले आफ्ना कुरा प्रदेशसभा र संसदीय दलमा राख्नु भएको छ,’ फुयाँलले भने, ‘त्यो क्रम अन्त्यपछि मतादन हुन्छ।’
दुुई स्थानमा राजाधानी राख्ने प्रस्ताव आएको विषय स्वीकार गर्दे उनले त्यो पनि विकल्पको रुपमा लिएर छलफल सुरु भएको बताए।
प्रदेशसभामा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनबारे बोल्ने क्रम सकिएको छैन। अन्य प्रक्रियामा पनि थप एक दिन लाग्ने देखिएको छ। ‘प्रदेश कमिटीका नेताहरु, प्रदेश सरकारका मन्त्रीहरु सबैले पार्टी केन्द्रको सुझावअनुसार अघि बढ्ने गरी धारणा राख्नुभएको छ’, फुयाँलले भने, ‘शुक्रबार बस्ने बैठकमा थप छलफलपछि केही आउला आश गरौं।’ प्रमुख प्रतिपक्षी कांग्रेससहित राप्रपा, नेमकिपा, विवेकशीललगायतका दलसँग पनि छलफल गरी सर्वसम्मतिमा नाम र राजधानी तोकिने उनले बताए।
मुख्यमन्त्री निवासमा चार घण्टा चलेको बैठकमा नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज काशीनाथ अधिकारी, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेश सरकारका मन्त्रीहरु र केही नेताले बोलेका थिए। उक्त बैठक आज बिहान ११ बजे निरन्तर रहेको फुयाँलले बताए।
प्रदेश इन्चार्ज शाक्यले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्राप्त निर्देशन सुनाएकी थिइन्। पार्टीको निर्णय विधिसम्मत नभए पनि यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ थियो।
प्रदेश अध्यक्ष दाहालले सबै हिसाबले उपयुक्त हेटौंडा नै पार्टी केन्द्रले पनि सुझाव दिएकाले नेकपाका सबै प्रदेश सांसदले एकै ठाउँमा मतदान गर्नुको विकल्प नरहेको बताए। प्रदेश सरकारका मन्त्रीहरु सालिकराम जम्करट्टेल, युवराज दुलाल, अरुण नेपाल र दावा दोर्जे लामाले पनि पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए।
एउटै नाम लैजान रोक्ने कसरत
केन्द्रको निर्देशनअनुसार प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वाग्मती मात्र निर्णय गर्न प्रदेशसभामा लैजाने प्रस्ताव रोक्ने प्रयासमा नेकपाकै सांसदहरु लागेका छन्।
विशेष समितिले सिफारिस गरेको पाँचवटै नाम प्रदेशसभामा दर्ता गर्ने र फिर्ता लिने समयमा थप ‘बार्गेनिङ’ गर्ने उनीहरुको तयारी छ। समितिले प्रदेश राजधानीका लागि मकवानपुर, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन उपयुक्त हुने सिफारिस गरेको थियो। तर, उनीहरुको रणनीतिलाई ख्याल गर्दै अर्को पक्षले भने पार्टीको तर्फबाट ह्विप जारी गर्ने चेतावनी दिएको छ।
आफूहरुले राखेको केही प्रस्ताव स्वीकार नगरे ह्विप पनि उल्लंघन हुने उनीहरुको चेतावनीपछि मुख्यमन्त्री पौडेल केही हच्केका छन्। पार्टी केन्द्रकाे निर्णय असफल हुनुका साथै आफू पनि अप्ठारोमा पर्ने भएपछि उनले थप केही दिन छलफल गर्ने तयारी गरेका छन्।
केन्द्रमा छलफल गर्न मन्त्री पठाइयो
मुख्यमन्त्री पौडेलले प्रदेशसभामा संसदीय दलको बैठक र प्रदेशसभा चलिरहेकै समयमा एक मन्त्रीलाई केन्द्रमा पठाएका छन्।
मन्त्रीले अध्यक्षद्वय र सचिवालयका मान्छेहरुसँग थप छलफल गर्न र असन्तुष्ट सांसदहरुलाई कुनै बाहानामा माथिबाट दबाब दिन लगाउने रणनीतिका साथ मुख्यमन्त्रीले केन्द्रमा मन्त्री पठाएका हुन्।
'फ्लर क्रस' गर्नेमा दुविधा
प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायत नेताको साथ पाए केही प्रदेश सांसद ‘फ्लर क्रस’ गरी काभ्रेको पक्षमा मतदान गर्ने तयारीमा थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले राजधानीको विषयमा चलखेल गरेमा पार्टीको राजनीतिक भविष्य पनि सुनिश्चित नहुने चेतावनी दिएपछि केहीपछि हटेका थिए।
मुख्य नेताहरु नरमजस्तो देखिएपछि अन्य सांसदहरु भने फ्लर क्रस गर्ने वा नगर्ने दुविधामा रहेको एक सांसदले बताए। ‘हिजो हेटौंडा मान्न सकिँदैन तपाईंहरु अघि बढ्नुस् भन्नु भएका केही अग्रजहरु पार्टी निर्णय मान्नुपर्ने भनेर नरम भइरहनु भएको छ’ ती सांसदले भने ‘यस्तो अवस्थामा एक्ला एक्लै फ्लर क्रस गर्न गाह्रो छ।’
कांग्रेसतिर आँखा
दुवैथरी सांसदहरु कांग्रेसको निर्णय हेरिरहेका छन्। प्रदेश राजधानीको विषयमा अहिलेसम्म उसले औपचरिक निर्णय गरेको छैन।
शुक्रवार यस विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। कांग्रेसभित्र पनि दुई धार भएकाले कुनै निर्णय हुन सकेकाे छैनन्। आज बस्ने बैठकले हेटौंडाको पक्षमा निर्णय गरेका नेकपाका असन्तुष्टहरुलाई मनाउन सहज हुने र सबैको बहुमतले निर्णय गर्ने तयारीमा नेकपा रहेको छ।
हेटौंडासँगै काभ्रेलाई पनि घोषणा गर्न माग
प्रदेश ३ को राजधानीलाई लिएर बिहीवार प्रदेशसभामा चर्काचर्की छलफल भएको छ। प्रदेश ३ को राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने पक्षकाे आवाजले पनि प्रदेशसभा र संसदीय दलको बैठकमा प्रवेश पाएको छ।
विशेष समितिको प्रतिवेदनबारे दोस्रो दिनको बैठकमा नेकपा सांसद राजेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय अभ्यासको परिभाषा दिँदै काभ्रे र हेटौंडा दुवैतिर राजधानी बनाउन प्रस्ताव गरे। ‘प्रदेशको राजधानी काभ्रे र हेटौंडा राखौं’, उनले भने, ‘भौगोलिक रूपमा उपयुक्त भने काभ्रे नै हो।’
बिहीवार २० जनाले विशेष समितिको प्रतिवेदनबारे धारणा राखेका थिए। बैठक शुक्रवार दिउँसो ३ बजे बोलाइएको छ। प्रतिवेदनबारे बोल्ने क्रम सकिएपछि समिति सभापति दीपक निरौलाले जवाफ दिने कार्यक्रम छ।
सर्वसम्वतको निर्णय हुने भएपछिमात्र मतदान : मुख्यमन्त्री
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पाैडेलले हेटौंडामा जारी नेकपा संसदीय दलको बैठकले राजधानी हेटौंडा र नाम वाग्मती राख्ने सर्वसम्मतीले निर्णय गरेपछि मात्रै मतदान हुने बताए। ‘अहिले छलफल चलिरहेको छ। यो अझै केही लम्बने देखिन्छ,’ उनले भने, ‘संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमै हेटौंडा राजधानीको निर्णय गरेपछि मात्रै संसद बैठकमा मतदान प्रक्रिया अघि बढ्नेछ।’
दलको बैठकमा सहमतीबाटै राजधानी र नामको विषयमा निर्णय हुने उनको दाबी छ। ‘हामी साथीहरुको कुरा सुनेर सहमतिमा ल्याउने अधिकतम प्रयासमा लागेका छौं,’ मुख्यमन्त्री पौडेल भने, ‘अझै केही साथीहरुको कुरा सुन्न बाँकी छ। उहाँको कुरापछि एकमत हुन्छ अनि मतदानमा जान्छौ।’
हेटौंडास्थित मुख्यमन्त्री निवासमा गत शुक्रबारदेखि नेकपा संसदीय दलको बैठक जारी छ। बैठकबाट राजधानी र नाममा सहमतिको खोजी भएपनि विवादको कारण निर्णय हुन सकेको छैन।
कसको कति मत?
प्रदेश ३ मा नेकपाको ८० सांसद रहेका छन्। सो मध्ये ३७ नेकपा सांसद पार्टी सचिवालयले गरेको निर्णयको विपक्षमा उभिएका छन्। यसले हेटौंडाको पक्षका सांसदको मतभार ४३ मा खुम्चिएको छ।
मकवानपुर ६, चितवन १०, काठमाडौं २०, ललितपुर ९, भक्तपुर ४, धादिङ ४, नुवाकोट ५, सिन्धुली ४, सिन्धुपाल्चोक ४, रामेछाप २, दोलखा ६, रसुवा १, काभ्रे ५ सांसद नेकपाका छन्।
कांग्रेस र अन्य
नेपाली कांग्रेस २२, राप्रपा २ विवेकशील ३, स्वतन्त्र १ नेमकिपा २ गरी ३० मत सत्ता बाहिर रहेकाहरुको छ।
१ सय १० सदस्यीय प्रदेशसभामा २ तिहाइका लागि ७४ मत चाहिन्छ। नेकपा आफैंसँग ८० मत छ। तर, विभाजन हुदाँ उसले थप बहुमतले निर्णय गर्न कांग्रेसको साथ खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।