काठमाडौं- सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
बिहीबार भएको समूह ‘बी’ को दोस्रो खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। हारसँगै कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अब शुक्रबार हुने खेलमा प्रदेश २ र नेपाल पुलिस क्लब बीचको विजेता सेमिफाइनलमा प्रवेश गर्ने छ।
इनरुवा रंगशालामा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै कर्णालीले दिएको १३० रनको लक्ष्य प्रदेश २ ले २२.५ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। प्रदेश २ का लागि हसिम अन्सारीले अविजित ८० रन तथा सुरज पटेलले अविजित ३३ रन बनाए। हसिमले ७३ बलमा ११ चौका र १ छक्का तथा सुरजले ५० बलमा १ चौका र १ छक्का प्रहार गरे।
कर्णालीको लागि अनुज चुनारा र दिनेश अधिकारीले समान १–१ विकेट लिए।
.JPG)
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ३१.५ ओभरमा १२९ रन बनाएको थियो। कर्णालीका लागि कप्तान रविन्द्र जंग शाहीले सर्वाधिक ४६ रन बनाए। उनले ६८ बलमा ६ चौका र १ छक्का प्रहार गरे। दिवान पुनले २३ तथा प्रकाश जैसीले १५ रन बनाए।
बलिङतर्फ प्रदेश २ का लागि कप्तान मेहबुब आलमले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, आदील अन्सारी र हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाको नाममा १ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।