काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको जय भन्नेहरू मात्र टिक्ने र बाँकी सबै असुरक्षित हुने बताएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन्।
'सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरूले बुझे हुन्छ भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’
जनतालाई जिस्क्याउने काम भयो भने नागरिकको अधिकार खोस्नेहरु स्वयम् नासिने उनले चेतावनी समेत दिए। नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको दाबी गरेका थिए।
'विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन्। विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन, लुते भएर हो,’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन। सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो।’ उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए।
यसैगरी, काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका थिए। ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ। उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन। त्यसका लागि सडकको तागत आवश्यक छ,' नेता पौडेलले भने। नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी उनले दिए।
सोही कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता नवीन्द्रराज जोशीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संविधानविरोधी विधेयक ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाए। नेता जोशीले सरकारका कारण लामो समयको संघर्ष र बलिदानपछि प्राप्त अधिकारहरु खोसिदै गएको दाबी गरे।
'लोकतान्त्रिक व्यवस्थामाथि सरकारले प्रहार गरेको छ। नेपाली जनताले लामो संघर्ष बलिदानपछि प्राप्त गरेको लोकतान्त्रिक अधिकारहरु खोसिँदै छन्,' उनले भने, 'आज जनताका अभिव्यक्ति स्वतन्त्रता खोसिने विधेयकहरु आएका छन्।'
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।