गएको वर्ष क्रिष्टियानो रोनाल्डोले युभेन्टसबाट पहिलो उपाधि साउदी अरबमा जिते। इटालियन सुपर कपमा उनको गोलमा युभेन्टसले एसी मिलानलाई हराएको थियो। साउदी अरबमा नै दुई हप्ताअघि युभेन्टस लाजियोसँग पराजित भयो।
६२ हजार दर्शक क्षमताको त्यही ‘किङ अब्दुलाह स्पोर्टस् सिटी’को मैदानमा बिहीबार राति लियोनल मेस्सी खेल्दैछन्। स्पेनिस सुपर कपको सेमिफाइनलमा एथ्लेटिको मड्रिडविरुद्ध। बुधबार राति स्पेनिस सुपर कपकै पहिलो सेमिफाइनलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-१ हरायो। जहाँ खेल मात्र थिएन, स्पेनिस टिम साउदी अरब पुग्नुको कथा थियो।
स्पेनिस सुपर कपबाट कुरा सुरु गरौँ। सन् १९८२ देखि स्पेनिस सुपर कपको नियम र शैली गएको वर्षसम्म एउटै नै थियो। ला लिगाको विजेता टिम र कोपा डेल रेको विजेता टिमले ‘होम एण्ड अवे’को आधारमा दुई खेल खेल्थे।
केही वर्षअघिसम्म ला लिगा र कोपा डेलरेको विजेता टिम एउटै भएमा सिधै सुपर कपको उपाधि दिइन्थ्यो। पछिल्ला केही वर्षमा भने ला लिगा विजेता र कोपा डेल रे विजेता एउटै टिम भएमा कोपाको उपविजेताले ला लिगा विजेतासँग सुपर कप खेल्थे।
२०१९ को फेब्रुअरीमा भने दुई टिमले खेल्ने तालिकाबाट सुपर कपको शैली फेरियो र चार टिमले प्रतिस्पर्धा गर्ने बनाइयो। जसमा ला लिगाको विजेता र उपविजेता साथै कोपा डेल रे को विजेता र उपविजेताले सेमिफाइनल खेल्ने तालिका बनाइयो। यसैले अहिले साउदी अरबमा चार टिम खेलिरहेका छन्। यसअघि अगस्टमा गरिने प्रतियोगिता यसै वर्षदेखि जनवरीमा गर्न थालिएको हो।
बार्सिलोना गएको सिजन ला लिगाको विजेताका रुपमा, एथ्लेटिको मड्रिड ला लिगाको उपविजेताको रुपमा र भ्यालेन्सिया कोपा डेलरेको उपविजेताका रुपमा सुपर कपमा छन्। कोपा डेल रेको उपविजेता पनि बार्सिलोना नै भएकाले सुपर कपमा चौथो टिम ला लिगामा तेस्रो स्थानमा रहेको रियल मड्रिड रहेको छ।
.jpg)
बुधबार राति पहिलो सेमिफाइनलमा रियल मड्रिडले क्रुस, इस्को र मोडरिकको गोलमा भ्यालेन्सियालाई ३-१ ले हराएर फाइनल पुगिसकेको छ। भ्यालेन्सियाका लागि पेरेजोले अन्तिम समयमा पेनाल्टीमार्फत गोल गरेका थिए। दोस्रो सेमिफाइनलमा बिहीबार राति बार्सिलोना र एथ्लेटिको मड्रिड खेल्दैछन्।
फेरिएको शैलीसहित स्पेनिस टिम साउदी अरबमा नै किन आए त? यसमा केही डलर, युरो या त साउदी रियाल जोडिन्छ नै। स्पेनिस फुटबल फेडेरेसनले कति पैसामा स्पेनमा गरिने खेल साउदी अरब पुग्यो भन्ने बताएको त छैन तर, स्पेनिस सञ्चार माध्यमको कुरालाई मान्ने हो भने झण्डै ४० मिलियन युरोमा सहमति भएको छ। तीन वर्षका लागि गरिएको यस्तो सम्झौतामा आउने वर्ष रकम अझ बढ्न सक्नेछ।
साउदी अरबमा आएर खेलेका रियल मड्रिड र बार्सिलोनाले झण्डै आठ मिलियन युरो र एथ्लेटिको मड्रिड र भ्यालेन्सियाले झण्डै चार मिलियन युरो पाउने छन्।
‘मलाई थाहा छ, यो प्रतियोगितालाई लिएर धेरै कुरा भइरहेको छ। तर गहिरिएर सोच्ने हो भने फुटबल भनेको अन्तिममा ब्यापार नै हो र यसले धेरै आम्दानी भइरहेको छ। हामी साउदी अरबमा खेल्नुको कारण त्यही नै हो’ बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले जेद्दाहमै भएको पत्रकार सम्मेलनमा बताए।
एम्नेस्टी इन्टरनेशनल जस्ता संस्थाहरुले स्पेनिस स्टार टिमहरु साउदी अरबमा पुगेर खेल्नुको विरोध गरिरहेका छन्। उनीहरुको भनाइ साउदी अरबमा मानब अधिकारको अवस्था राम्रो नहुनुसँग जोडिएको छ। स्पेनिस फुटबल फेडेरेसनले मानबअधिकारको त्यस्तो अवस्था नदेखे जस्तो गरेर सम्झौता गर्नु हुँदैन थियो भन्ने आवाज उनीहरुको छ।
.jpg)
ला लिगा अध्यक्ष जेभियर टेबाससमेत फेडेरेसनको निर्णयमा खेल साउदी अरबमा गरिएकोमा खुसी छैनन्। उनले स्पेनिस फुटबललाई कमाइको भाँडो मात्र बनाउन नहुने बताइरहेका छन्। साथै ‘बीइन स्पोर्टस’सँग रहेको टेलिभिजन प्रसारण अधिकारमा पनि त्यसले असर गर्ने हुँदा समस्या आउने उनको भनाइ छ। ‘अहिले साउदी अरबमा गएर खेल्ने उपयुक्त समय हो जस्तो लाग्दैन। साउदीले जसरी स्पेनिस फुटबलको अधिकार चोरीरहेको छ त्यसले स्पेनिस फुटबलको पैसा समेत उतै पुग्नेछ’ उनले भनेका छन्।
साथै स्पेनमा रहेका क्लब समर्थकहरु पनि सुपर कप साउदी अरबमा भएको कुराले खुसी देखिँदैनन्। स्पेनिस पत्रिकामा आएका समाचारलाई हेर्ने हो भने ‘समर्थकहरु खेलका लागि साउदी अरबसम्म जान चाहँदैनन्।’ समर्थकहरु असन्तुष्ट रहे पनि स्पेनकै समर्थकका लागि हरेक खेलमा केही टिकट भने छुट्याइएको छ। तर एक समर्थकलाई साउदी अरब पुगेर खेल हेर्न हजार पाउण्ड खर्च हुने हुनाले समस्या रहेको बताइन्छ। त्यसैले भ्यालेन्सियाका २६ र एथ्लेटिको मड्रिडका ५० जना समर्थकले मात्र टिकट लिएका छन्।
स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबियल्स भने मध्यपूर्वमा सम्बन्ध विस्तारका लागि सुपर कपका खेल साउदी अरबमा गर्ने निर्णय गरेको बताउँछन्। ‘मध्यपूर्वमा सम्बन्ध विस्तारका लागि सुपर कप साउदी अरबमा खेलाइएको हो। एक त सुपर कप अहिले मृत्युको मुखमा पुगिसकेको जस्तो देखिन्थ्यो। साउदी अरबले दिने पैसा हामी महिला फुटबलको विकास र दोस्रो डिभिजनका क्लबहरुको विकासमा खर्च गर्नेछौँ’ गएको नोभेम्बरमा उनले भनेका थिए।

स्पेनिस फुटबलबारे लेखिरहेका स्तम्भकार जोआन पोकी पनि सुपर कोपा साउदी अरब पुग्नुले धेरै बेखुसी रहेको बताउँछन्। ‘यो त बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनुपर्ने खेल थियो। जो सबै तालिका बिगारेर साउदी अरबमा पैसाका लागि प्रतियोगिता बेच्नु फुटबलमा देखिएको वेश्यावृत्ति हो’ उनले भनेका छन्।
स्पेनिसहरु जति नै बेखुसी रहे पनि स्टार खेलाडीहरुलाई आफ्नो मैदानमा उतारेर साउदी अरबले पनि विश्वलाई चकित पारेको छ।
यसमा विशेष त रोनाल्डो मेस्सी जस्ता खेलाडीलाई आफ्नो मैदानमा उतार्न सकेको साउदी अरबले खेलमार्फत देशकै छबी अझ बलियो बनाउनेछ। इटालियन सुपर कप र स्पेनिस सुपर कप मात्रै होइन साउदी अरबले पछिल्लो समय ब्राजिल र अर्जेन्टिनाको मैत्रीपूर्ण फुटबल हुँदै जोसुवा र रुइजबीचको प्रोफेसनल बक्सिङदेखि गल्फ, फाइट, रेस्लिङ गरिसकेको छ भने स्नुकर, घोडचढी जस्ता खेलहरु पनि गरिरहेको छ।
.jpg)
खेलका यस्ता गतिविधिले तेलमा आधारित साउदी अरबको अर्थतन्त्रमा नयाँ आयामहरु देखिँदैछ। यसैले साउदी अरबका खेलकुद मन्त्री अब्दुलाजिज बिन टुर्कीले भनेका छन्- ‘हाम्रो देश १० वर्ष पहिलेको जस्तो होइन।’
(यो सामग्री बिबिसी, गार्जियन र मार्कामा आधारित रहेर तयार पारिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।