काठमाडौं- सूचना प्रविधि विधेयकमाथि संसदमा र्याखर्याख्ति पार्नेगरी बहसको आशा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन्।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘सरकारले संसदलाई बिजनेस दिएको हो। सैद्धान्तिक छलफल संसदमा हुन्छ।’
उनले संसदीय समितिले सरकारले पेश गरेका ३६ विषयलाई समृद्ध बनाएको उल्लेख गरे। संसदीय समितिमा प्रतिपक्ष दलका सांसदले उठाएका आठ विषयलाई सम्बोधन गरिएको प्रष्ट्याए।
डिजिटल नेपालका लागि आर्थिक सुरक्षा, गोपनियता र सम्पति रक्षाका लागि समेत सूचना विधेयक आवश्यक रहेको उनले स्पष्टिकरण दिए। फूल हाउसमा थप छलफल हुने जनाउँदै उनले भने, ‘सत्य स्विकार्न गाह्रो हुन्न। र्याखर्याख पार्नेगरी संसदमा बहस होस्।’
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका विषयमा बोल्दै बाँस्कोटाले प्रमुख प्रतिपक्ष दलसँग छलफल भइरहेको प्रष्ट्याए। ‘सरकारका तर्फबाट प्रधानमन्त्री र पार्टीका तर्फबाट अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवासँग छलफल गरिरहनुभएको छ।’ उनले भने, ‘लोकसेवा आयोगले जसरी नाम प्रकाशित गर्ने होइन। खल्तिबाट आएपनि सहमतिबाट लुकाउने कुरै हुँदैन।’ द्वन्दकालीन दुई आयोग गठनमा राजनीतिक इच्छा पनि प्रकट भएको स्विकार्दै उनले भने, ‘ राजनीतिक कुरा हो। त्यस्तो हुन्छ।’
सेक्युरिटी प्रिन्टका विषयमा संसदका दुई समितिले प्रश्न उठाएकाले खरिदमा नहतारिने जवाफ दिए। फ्रान्सको कम्पनीसँग झन्डै २३ अर्बमा सरकारले सेक्युरिटी प्रिन्ट खरिद गर्दा आर्थिक चलखेल भएको बाहिरिएको थियो। निर्वाचन परिचय,नागरिकता,परिचय पत्र,लालपुर्जा, अन्तःशुल्क,रिचार्ज कार्ड, लाइसेन्स त्यसै प्रेसमार्फत् बनाउने सरकारले जनाएको छ। पासपोर्टको संख्यामा कमि भएकाले छिटो निर्णय गर्न संसदीय समितिलाई सुझाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।