काठमाडौं– रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रियसभामा पेश भएको छ। भौतिक पूर्वाधार यातायात मन्त्री बसन्तकुमार नेम्वाङका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले बिहीबारको राष्ट्रियसभा बैठकमा विधेयक पेश गरेका हुन्।
विधेयकको विषयमा कुनै पनि विरोधको सूचना प्राप्त नभएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बताए। विधेयकमा रेल चालकले कम्तिमा माध्यमिक तह ९दश जोड दुई० पास गरेको र पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
रेल चालक हुन रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ। रेल चालक हुन २५ वर्ष र सहचालक हुन २० वर्ष उमेर भएको हुनुपर्नेछ। सरकारले ऐनमै २० वर्ष नपुगेको व्यक्ति सहचालक र २५ वर्ष नपुगेको व्यक्ति चालक हुन नपाउने प्रस्ताव गरिएको छ।
त्यस्तै ५० वर्ष पुगेको व्यक्ति दुवै पदका लागि अयोग्य हुनेछ। सरकारले रेल्वे सञ्चालनका लागि जाँचबुझ गराउनु पर्ने व्यवस्था समेत गरेको छ। बोर्डले रेल्वे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय-समयमा आवश्यक जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले यात्रीको भाडा र यात्रीका मालसामान ढुवानी तथा विलम्ब शुल्क तोक्ने व्यवस्था गरिएको छ। त्यस्तै भाडा तथा शुल्क किताबको समेत व्यवस्था गर्नुपर्ने छ। बोर्डले भाडा तथा शुल्कसम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न भाडा तथा शुल्क ९ट्यारिफ० किताबको व्यवस्था गर्नुपर्ने रेल्वे ऐनमै राख्ने प्रस्ताव सरकारले गरेको छ।
सरकारले रेल्वे सेवालाई व्यवस्थित बनाउन रेल आइपुग्ने तथा प्रस्थान गर्ने समय तालिका र एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्न लाग्ने भाडा दर सम्बन्धित यात्रीको जानकारीको लागि अनिर्वाय रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।