काठमाडौं- संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको हो। संकटाको जितमा अजय मार्टिन्स कोयडेले २ गोल गर्दा कर्ण लिम्बु र लक्ष्मण रुचालले समान १–१ गोल गरे। यता, एपिएफका लागि नविन लामा र आशिष लामाले गोल फर्काए।
खेलको १९औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा कर्णले गोल गरेपछि संकटा पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो।
दोस्रो हाफमा एपिएफले २ गोल गर्दा थप २ गोल खान पुग्यो। खेलको ५३औं मिनेटमा अजयले गोल गर्दै संकटालाई ३–० गोलको अग्रता दिलाए। तर ५६औं मिनेटमा नविनले गोल गर्दै एपिएफलाई ३–१ गोलको स्थितिमा ल्याए। ७२औं मिनेटमा आशिषले गोल गरेपछि एपिएफ ३–२ गोलको स्थितिमा पुगेको थियो। खेलको ८८औं मिनेटमा अजयले अर्को गोल गर्दै संकटालाई ४–२ गोलको जित दिलाए।
यो जारी लिगमा संकटाको दोस्रो जित हो। ५ खेल खेलेको संकटाको २ खेलमा जित, २ खेलमा हार र १ खेलमा बराबरी सहित ७ अंक भएको छ। पराजित एपिएफको भने ५ खेलबाट ४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।