काठमाडौं- खानी तथा भूगर्भ विभागले १ सय २६ खानीलाई उत्खननका लागि अनुमति दिएको छ।
विभागले दिएको जानकारी अनुसार, चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति दिएको हो।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुंगा ४९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ। अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज चार, काइनाइट आठ, मार्वल तीन, रातोमाटो तीन, फलाम दुई, जिंक एक, क्वार्जजाइट १०, म्याग्नेसाइट एक, डोलोमाइट एक र क्याल्साइट एक खानी छन्।
खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुंगा उत्खननका लागि धेरै आवेदन परेको र सोही अनुसार उत्खननका लागि अनुमति दिएको जानकारी दिए।
'नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुंगाको उत्खनन बढेको हो', उनले भने।
विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ। नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुंगा खानी छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।