काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक विवाद सुरु भएपछि काठमाडौं पुगेका जिल्ला सभापतिहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले आफू लचिलो हुन तयार रहेको वचन दिएका छन्।
देउवा निवास बुढानिलकण्ठमा जिल्ला सभापतिहरूलाई भेटेपछि देउवाले १४औं महाधिवेशनमा एकमत भएर जानका लागि पहल गर्ने वचन पनि दिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए।
जिल्ला सभापतिको परामर्शपछि तयार भएको ज्ञापनपत्र सभापति शेरबहादुरलाई पढेर सुनाइएको थियो। विधानको धारा निलम्बन र विभागहरूको गठनको विषयमा ध्यानार्कषण गराउँदै जिल्ला सभापतिहरूले गुटगत भन्दा स्वतन्त्र काम गर्न सुझाव दिएका थिए।
‘पार्टी सभापतिले गुटगत भागबण्डा गर्ने होइन स्वतन्त्र रुपमा गर्ने हो,’ उनले भने, ‘विधानमा ६ महिनाभित्र गठन गरिसक्ने विभागहरू किन भएनन् वा सभापतिले आवश्यक किन ठानेन भन्ने कुरा प्रष्ट हुनुपर्ने माग जिल्ला सभापतिहरुले गरेका छन्।’
जिल्ला सभापतिहरूको कुरा सुनेपछि सभापति देउवाले आफू मिलेर जान तयार रहेको बताएका उनले दाबी गरे। ‘हामीसँग सभापतिले पार्टी सबैको हो। म मिलेर जाने पक्षमा छु भन्नुभएको छ,’ उनले भने ,‘वार्ता कमिटीले भनेअनुसार म अघि बढ्न तयार छु। हामी सबैले पार्टी बचाउने दायित्व हो।’
देउवाले वार्ता कमिटिले वार्ताटोलीका बीचमा जहाँबाट कुरा बिग्रेको हो त्यहीँबाट पुन: सुचारु गर्न आफू तयार रहेको बताए। देउवा केन्द्रीय समितिको निर्णय सच्चाउन भने तयार भएनन्। उनले मिलेर जाने वचन दिए पनि त्यसबारेमा भने विस्तृत बताएनन्।
‘उहाँले सच्चाउने वा नसच्चाउने भन्नुभएन। सबै मिलेर जाने भन्नुभयो,’ उनले भने, ‘आफू लचिलो हुन तयार रहेको बताउनुभयो हामीले ११ गते बैठकको निर्णय सच्याएर १४ महाधिवेशनको मिति तय गर्नुपर्ने माग गरेका छौं।’
देउवाले सबैलाई व्रेकफास्टमा निम्त्याएका भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अहिले पार्टीभित्रको एकता आवश्यकतामा सभापतिले औंल्याएको बताए। संवादबाट सहमति र सहमतीबाट महाधिवेशन गर्नुपर्ने निष्कर्ष निक्लेको उनले दाबी गरे।
विमेलेन्द्र निधि, विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले पनि आफ्नो कुरा राखेका थिए। देशैभरि कांग्रेसका शुभेच्छुकहरूले राखेको कुरामा आफू तयार रहेको सभापति देउवाले गरेको प्रवक्ता शर्माले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।