काठमाडौं- राष्ट्रियसभाका एक सांसदले सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका छन्।
बिहीबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सभामुख चयनका लागि केही व्यवस्था भएको भन्दै त्यसलाई पालना गर्न आग्रह गरे।
'सभामुखको चुनाव सम्बन्धमा स्पष्ट संवैधानिक व्यवस्था छ। प्रतिनिधिसभा नियमावली छ। २७ गतेको प्रतिनिधिसभाको बैठकले एक मिनेट र सेकेण्ड पनि ढिलो नगरी सभामुख चयनको प्रक्रिया अगाडि बढ्नुपर्दछ भन्ने माग गर्न चाहन्छु', उनले भने।
देवले नेकपामा लोकतान्त्रिक व्यवस्था र संविधानप्रति यदि साँच्चिकै आस्था छ र लोकतान्त्रिक प्रक्रियाप्रति आस्था छ भने यो प्रक्रियालाई अब धेरै दिन अड्काएर राख्नु नुहने बताए। 'जतिसक्दो चाँडो सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्छ', उनले भने।
उनले मुलुकमा सभामुखको निर्वाचन र प्रदेशको नामाकरण संविधानको अक्षर र भावनामा हुने, नियमावलीको स्पिरिटमा हुने कि पार्टीको नाममा एउटा दुइटा शीर्ष नेताको निरंकुशताको बन्दी हुने? भन्दै प्रश्न उठाए।
'यो गम्भीर राजनीतिक र संवैधानिक प्रश्न हाम्रो अगाडि तेर्सिएको छ', उनले भने।
देवले केही व्यक्तिको कारण रोकिएको भन्दै त्यसले प्रतिनिधिसभा र संघीय संसदको मानहानी भइरहेको बताए।
'प्रतिनिधिसभा र संघीय संसदको मानहानी भइरहेको छ। यो मानहानीको विषय हो। यो मुद्दा अदालतमा जान सक्छ', उनले भने, 'संसदीय लोकतन्त्रको, विधायिकाको अवमूल्यन भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।