कञ्चनपुर- गृहजिल्ला भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोको माला लगाएको छ। नगरपालिकाले मन्त्री मगरसमक्ष २१ माग राख्दै २१ किलोकै माला लगाइदिएको हो।
नगरपालिकाका तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन्। स्थानीय मतदाताकै समर्थनले सिंहदरवारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताइन्। `२१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ,´ मन्त्री मगरले भनिन्।
नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार वैशाखालाई सुविधासम्पन्न भन्सारका रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ। नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने, सबै बस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग छन्।
द्वन्द्वका क्रममा दुवै पक्षबाट भएका सहिद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रममा नगरपालिकाले मन्त्री मगरसमक्ष मागपत्र पेश गरेको हो। कार्यक्रममा नगरपालिकाले सहिद तथा बेपत्ताका परिवारजनलाई साइकल वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।