काठमाडौं- प्रदेश ३ को राजधानी विवादमा नेकपाकै सांसदहरुले हेटौडालाई स्वीकार्न नसकिने भनी टिप्पणी गरेका छन्। प्रदेश सभामा बुधबार बोल्दै सत्तारुढ दल नेकपाका सांसदहरुले यस्तो टिप्पणी गरेका हुन्।
प्रदेश सभाको नाम र राजधानी तोक्न बुधबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा बोल्दै सत्तापक्षको सांसदहरुले नेकपा सांसद सचिवालयले दिएको निर्देशनविरुद्ध टिप्पणी गरेका हुन्।
बुधबारमात्र प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा बोलाएर राजधानी सार्ने विषयमा छलफल नगर्न निर्देशन दिएका थिए।
पार्टीले राजधानी हेटौंडालाई नै बनाउन निर्देशन दिए पनि प्रदेश सभामा बोल्ने सांसदहरुले त्यसको विरोध गरेका हुन्। प्रदेश सभामा बोल्दै सांसदहरुले सबैलाई पायक पर्ने भएकाले काभ्र नै सानुपर्ने माग गरेका थिए। सांसदहरु लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल, बसुन्धरा हुमागाइँ लगायतले हेटौंडा मान्न नसकिने तर्क गरेका हुन्।
बुधबारको बैठकमा २० सांसदले आफ्नो तर्क राखेका छन्। बुधबार बोल्ने अधिकांश सत्तापक्षका सांसद छन्।
अध्ययन समितिको प्रतिवेदन प्रदेश सभामा पेश
राजधानीको सम्भाव्यता अध्ययन गर्न गठन भएको समितिको प्रतिवेदन बुधबार प्रदेश सभामा पेश भएको छ। सभामुख सानुकुमार श्रेष्ठको अनुमतिपछि समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको हो। प्रदेश सभाको बैठक बिहीबार ३ बजेलाई बोलाइएको छ। प्रदेश ३ को राजधानीको विषयमा अध्ययन गर्न बनेको विशेष समितिले राजधानीका लागि प्रदेशका ५ जिल्ला उपयुक्त रहेको निष्कर्षसहित असार २६ गते प्रदेशसभालाई प्रतिवेदन बुझाएको थियो ।
२ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन तथा प्रश्नावलीका आधारमा समितिले राजधानीका लागि ५ जिल्ला उपयुक्त रहेको निष्कर्षसहित वर्णानुक्रम अनुसार जिल्लाको सिफारिस गरेको थियो। समितिले राजधानीका लागि सिफारिस गरेका जिल्लाहरुमा वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर थियो।
समितिले जिल्लाको भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकताक्रमअनुसार प्रतिवेदन तयार पारेको थियो । ‘औचित्यताका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो। समयमा प्रतिवेदन दिन नसकेपछि समितिको म्याद १५ दिन थपिएको थियो।
काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगतस्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो।
सांसद दीपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालीन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खड्का र जगत सिम्खडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाईं, राप्रपाकी रिता माझी र राप्रपा (प्रजातान्त्रिक) की रिना गुरुङ सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।