काठमाडौं- नेपाली कांग्रेस संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समितिको निर्णय सच्याउन लिखित प्रस्ताव बुझाउने भएका छन्।
तीन दिन बसेर आज सकिएको जिल्ला सभापतिहरुको भेलाको लिखित सुझाव सभापति देउवासँगको भेटपछि केन्द्रीय कार्यालयमा बिहीबार बुझाउने बताइएको छ। सभापति देउवाले बिहीबार १० बजे जिल्ला सभापतिहरुलाई आफ्नै निवास बुढानिलकण्ठ बोलाएका छन्।
बहुमतको आधारमा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि संस्थापन पक्षले त्यसको विरोध गर्दै आएको छ। महाधिवेशनको कार्यतालिकालाई प्रभावित गर्ने विधानका व्यवस्थासमेत केन्द्रीय समितिको बैठकले निलम्बन गरेको थियो। महाधिवेशनको मिति घोषणा बहुमतको आधारमा हुन नसक्ने देउवाइतर खेमाको जिकीर छ। विगतको परम्परासमेत संस्थापनले कुल्चेको ठहर गर्दै संस्थापनइतर समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको थियो।
जिल्ला सभापतिहरुको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका ४७ जिल्ला सभापति सहभागी भएको बताइएको छ। तीन दिनदेखि बसेको सभापतिहरुको भेलाले पार्टी निर्णय सच्याउन पार्टी सभापति देउवालाई लिखित प्रस्ताव केन्द्रीय कार्यालयमार्फत बुझाउन लागिएको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी गराए।
सोमबारदेखि बसेको भेलामा उपस्थित जिल्ला सभापतिहरुले पार्टी कमजोर हुनुमा पार्टी नेतृत्वलाई दोष दिएका थिए। संस्थापनइतरका नेताहरुलाई एक स्थानमा उभिनसमेत उनीहरुले सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।