काठमाडौं- सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २६७ रनको विशाल अन्तरले पराजित गरेको छ। पुलिसले दिएको ३४७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कर्णाली प्रदेशले २७.१ ओभरमा सबै विकेटको क्षतिमा ७९ रन मात्रै बनाउन सक्यो।
कर्णाली प्रदेशका लागि राज शाहले सर्वाधिक २३ रन बनाउँदा टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १०–१० रन बनाए। बलिङतर्फ पुलिसका ललित भण्डारी, मञ्जित श्रेष्ठ र सागर ढकालले समान २–२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३४६ रन बन बनाएको थियो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ७८ रन बनाए। उनले ४९ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै सुनिल धमलाले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए। त्यस्तै, अनिल साहले ३६, दिपेन्द्रसिंह ऐरीले २५, मन्जित श्रेष्ठ १८, दिलिप नाथ र पवन सर्राफ समान १५–१५ रन बनाए।

कर्णाली प्रदेशका लागि बलिङतर्फ रविन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट लिए। त्यस्तै युनिष सिंह र राज शाहले समान २–२ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा कर्णाली प्रदेश र प्रदेश नम्बर–२ ले प्रतिस्पर्धा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।