बैतडी- माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ।
माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिए। लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत थिइन्।
यसैगरी झाडापखाला र ज्वरोले थलिएकी पाटन नगरपालिका–९ बस्ने जगदीश भण्डारीकी तीन वर्षीया छोरी बबिताको मृत्यु भएको छ। उनलाई ज्वरोसँगै झाडापखाला लागेको बालिकाका आफन्त नरेन्द्र कार्कीले बताए।
ज्वरो र झाडापखालाले थला परेकी बबितालाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा आइतबार बाटोमै मृत्यु भएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।