काठमाडौं- थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा थ्रीस्टारले बिबिसीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। थ्रीस्टारका लागि सुशान श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलानदिरन हाजमतले गोल गरे। यता, बिबिसीका लागि रोशन थापा मगरले गोल गरे।
खेलको १५औं मिनेटमा सुशानले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। सुरुवाती समयदेखि बिबिसीलाई दबाबमा राखेको थ्रीस्टारले खेलको ४१औं मिनेटमा अर्को गोल थप्न सफल भयो। यस पटक भने डिफेन्डर अनन्तले गोल गरे।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको बिबिसीलाई १ गोल गर्दा १ गोल खान पुग्यो। खेलको ५८औं मिनेटमा हाजमतले गोल गर्दै थ्रीस्टारले ३–० गोलको अग्रता बनायो।
खेलको ६६औं मिनेटमा बिबिसीका दीपक राज सिंह रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। खेलको ९०औं मिनेटमा रोशनले गोल गर्दै बिबिसीलाई ३–१ गोलको स्थितिमा ल्याए पनि हारबाट टार्न सकेनन्।
जितसँगै थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ। ५ खेल खेलेको थ्रीस्टारले ३ खेलमा जित र समान १–१ खेलमा बराबरी र हार ब्यहोर्दै १० अंक बनाएको छ। पराजित बिबिसीले भने ५ खेलबाट ६ अंक बनाएर लिगको सातौं स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने मनाङ मस्र्याङ्दी क्लब रहेको छ। मनाङको ५ खेलबाट ११ अंक छ। लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।