काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहाना नबनाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए।
‘निर्माणको काम ढिलो रुपमा अघि बढ्यो’, प्रधानमन्त्री ओलीले भने, ‘यसलाई गति दिनुपर्छ।’
कतिपय पीडितले मापदण्ड नपुर्याई घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज नभएको प्रधानमन्त्री ओलीको भनाइ छ।
'भूकम्प गएको तीन वर्षपछि मापदण्डको फिता र डन्डी लिएर गएर हुँदैन’, उनले भने, ‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्छ।’
पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पुर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउनुपर्ने प्रधानमन्त्री ओलीले बताए।
‘धनीपुर्जा नभएकालाई अनुदान रकम दिन ऐन कानुनले केही अप्ठेरो पार्छ भने सच्याएर अरुले पाए सरह सुविधा दिने व्यवस्था गर्नुपर्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले सिंहदरबार विश्वविद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको समेत बताए। सिंहदरबारको मुख्य भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले यो गरिनुको उद्देश्यबारे चासो प्रकट गरेका थिए।
‘रेट्रो फिटिङका नाममा त्यहाँ के भइरहेछ, म आफैं हेर्न चाहन्छु। त्यहाँ नहुनुपर्ने काम भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालय पढेर आएर सिंहदरबार अभ्यास गर्ने थलो होइन।’
आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिइने समेत ओलीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।