राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारका गलत नीति र योजनाका कारण मुलुक आर्थिक रुपमा टाट पल्टेको आरोप लगाएका छन् । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको श्वेतपत्रको प्रसंगमा बोल्दै यादवले भ्रष्टाचार, कमिसन, अराजकता, लुटतन्त्र तथा सरकारको गलत नीतिका कारण यस्तो अवस्था आएको बताए ।
‘नेपाल अन्तर्राष्ट्रिय ऋणमा डुबेको र आर्थिक रुपमा टाट पल्टेको मुलुक हो’, उनले भने, ‘देशको अर्थतन्त्र धरासायी हुनुमा सरकारको नीति, योजना र राज्यबाटै संरक्षित अराजकता जिम्मेवार छ।’ विद्यमान राजनितिक अवस्थाको विश्लेषण गर्दै नेता यादवले अब सरकारको सोच र चिन्तनलाई संघीयता अनुसार परिवर्तन गर्नुपर्ने बेला आएको बताए। ‘एकात्मक र एकल जातीय चिन्तनबाट अब मुक्त हुनुपर्छ। राणाकालीन माइन्डसेटले अब मुलुक चल्दैन’, उनले थपे, ‘प्रदेशको क्षेत्राधिकार तयार गर्नुपर्छ र केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ।




प्रदेशलाई अधिकार, स्रोत–साधन र प्राकृतिक सम्पदामाथिको अधिकार दिएर आफ्नो खुट्टामा उभिने वातावरण तयार गर्न उनले संघीय सरकारलाई आग्रह गरे। ‘कुनै भुलभुलैयामा नपरी जतिसक्दो चाँडो कानुन बनाएर प्रदेशलाई आफ्नो खुट्टामा उभिने वातावरण दिनुपर्छ’, यादवले भने, ‘केन्द्रले गरिदेला कि भनेर मुख ताक्नेभन्दा पनि आर्थिक, शैक्षिक, स्वास्थ्य, आवास, सुरक्षा लगायतका समस्या समाधान गर्न सक्नेगरी प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ।’ प्रदेशको असजिलो अवस्थाप्रति असन्तुष्टि जनाउँदै यादवले भने, ‘कर्मचारीहरु प्रदेश मातहत आएका छैनन्, स्रोत–साधन छैन। केन्द्रको अगाडि प्रदेशहरु भीखमंगा भएका छन्। पानीबिनाको माछा झैं छटपटाउनु बाहेक अर्को विकल्प छैन।’
यादवले स्रोत र बजेट बाँडफाँटमा कमजोर क्षेत्रलाई प्राथमिकताा दिनुपर्ने बताए। जनसंख्या र मानव विकास सूचकांकका आधारमा सरकारले लागानी गर्नुपर्ने उनको भनाइ छ । ‘प्रदेश २ शताब्दीयौंदेखि विभेदमा छ, विकासका काम सुस्त छन्,’ उनले भने, ‘बेरोजगारी, गरिबी र पछौटेपनलाई हेरेर इमान्दारीपूर्वक सरकारले लगानी गर्नुपर्छ ।’ सामाजिक, आर्थिक रुपमा पछाडि परेका समुदायलाई समान स्तरमा ल्याउने दायित्व पनि सरकारकै भएको जिकिर गर्दै यादवले त्यस्तो समुदायको अवस्था उकास्न विशेष आरक्षण र सहुलियत दिनुपर्ने धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।