कञ्चनपुर- गृहजिल्ला भ्रमणमा रहेकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोको माला लगाएको छ । नगरपालिकाले मन्त्री मगरसमक्ष २१ माग राख्दै २१ किलोकै माला लगाइदिएको हो । नगरपालिकाका तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन्। स्थानीय मतदाताकै समर्थनले सिंहदरवारसम्म पुगेको बताउँदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताइन् । `२१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ,´ मन्त्री मगरले भनिन् ।
नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार वैशाखालाई सुविधासम्पन्न भन्सारका रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ । नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने, सबै बस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग छन्। द्वन्द्वका क्रममा दुवै पक्षबाट भएका सहिद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रममा नगरपालिकाले मन्त्री मगरसमक्ष मागपत्र पेश गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।