दैलेख- दैलेख जिल्ला महावु गाउँपालिका– ६ मा एक व्यक्तिको शव गाडिएको स्थानबाट १४ वर्षपछि निकालेर अन्त्येष्टि गरिएको छ। तत्कालीन विद्रोही माओवादीको सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्या गरेका महावु- ६ का ऐनबहादुर शाहीको कंकाल परिवारले उत्खनन गरेर अन्तिम संस्कार गरेका हुन्।
२०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले माओवादीको आरोपमा पक्राउ गरेको थियो । पक्राउ गरेकामध्ये अन्यलाई केही समयपछि सेनाले रिहा गरे पनि शाहीलाई भने हिरासतमै राखेको थियो। उनलाई हिरासतमा चरम यातना दिएर हत्या गरिएको परिवारको आरोप छ। यातना सहन नसकेर मृत्यु भएपछि सेनाले उनको शव धरमपोखरा जंगलमा गाडेको थियो।
ऐनबहादुरका छोरा गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए। घर छाडेका तीन भाइमध्ये एक अहिले नेपाली सेनामा कार्यरत छन्। अन्य दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खनन गरेर उनीहरुले शनिबार शिरिस्थानमा दाहसंस्कार गरेका हुन्।
दैलेखमा द्वन्द्वको समयमा २ सय ७० जना राज्यपक्षबाट मारिएको दाबी माओवादी पक्षले गर्दै अएको छ। माओवादीबाट पनि सोही हाराहारीमा मारिएको अनुमान सरकारी पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।