इटहरी- सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव बस्तीमा आइतबार अपराह्न आगलागी हुँदा १५ परिवारका घरगोठ जलेर नष्ट भएको छ। आगलागीबाट करिब ३५ लाख बराबरको नोक्सानी भएको आकलन छ।
भारत बिहारसँग सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाको घरमा गहुँ केलाउन चलाइएको थ्रेसरबाट सल्किएको आगोले बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।
साढे १२ बजेतिर भएको आगलागीमा परी बस्तीका सम्पूर्ण घर ध्वस्त हुँदा बस्तीका मानिसका लागि आपतकालीन सहयोग आवश्यक भएको प्रहरीले जनाएको छ।
बिहार र सुनसरीको इनरुवा र इटहरी लगायत क्षेत्रबाट पुगेको वारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त टोलीको सक्रियतामा आगो निभाउने प्रयास भएको बताइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।