काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको स्वीकार गरेका छन्।
संविधानले तीनै तहका सरकारका काम परिभाषित गरे पनि काम गर्ने शैलीमा पुरानै आचरण हाबी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको 'स्पिरिट'अनुसार आउन नसकेको बताएका हुन्।
मंगलबार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरुबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए।
'राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानुन र संरचना अझै पनि पूर्णरुपमा निर्माण नभएकाले व्यवहारिकमा अन्तरविरोध भइरहेको छ। त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको हो,' मन्त्री पोखरेलले भने।
त्यस्तै समावेशी आर्थिक विकासका लागि तीनै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरीक्षणमा जानुपर्ने उनको जोड थियो।
उपप्रधानमन्त्री पोखरेलले विकासमैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भए मात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।