काठमाडौं- प्रदेश ३ को नाम र राजधानीको विषयमा विवाद हुँदा प्रदेशसभा बैठक नै अन्योलमा परेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरूले प्रदेशको नाम र राजधानी हेटौंडा मान्न नसकिने तर्क गर्दै त्यसको विपक्षमा भोट गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक राख्ने वा नराख्ने विषयमा अन्योल सिर्जना भएको हो।
सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिए लगत्तै कार्यव्यवस्था समितिको बैठक बसेर मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक बुधबारलाई सारिएको हो। बुधबारसम्म पनि सत्तारुढ दलमा सहमति नदेखिएमा बैठक केही समयका लागि सूचना टाँसेर स्थगित गर्ने तयारीमा प्रदेश सरकार रहेको एक मन्त्रीले बताए।
प्रदेश राजधानी हेटौंडामा मान्न नसकिने पक्षमा नेकपाका ३७ सांसद खुलेरै लागेका छन्। नेकपाका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापितलगायतले हेटौंडा राजधानी हुन नसक्ने जिकिर गर्दै आएका छन्। प्रदेशको राजधानी तोक्ने काम प्रदेशसभाको भएकाले नेकपा सचिवालयबाट आएको निर्णय अस्वीकार्य हुने उनीहरुको चेतावनी छ।
दोलखाका प्रदेश सांसद विशाल खड्काले प्रदेशको राजधानी र नाम तोक्ने अधिकार प्रदेशसभाको भएकाले प्रदेशसभामा नै छलफल हुनुपर्ने र केन्द्रबाट पठाएको स्वीकार्य नहुने बताए। यसरी केन्द्रबाट नाम र राजधानीको विषय पारित गर्न ह्विप जारी हुन्छ भने आफूहरुले अस्वीकार गर्ने उनले बताए।
‘राजधानी तोक्ने विषयमा पार्टीले ह्विप लगायो भने संघीय प्रणालीलाई नै चुनौती हुने छ, यसले पार्टीभित्र संघीयतामाथि नै ठुलो प्रश्न उठ्न सक्छ,’ उनले भने, ‘ त्यसकारण पार्टी सचिवालयले यस विषयमा ह्विप लगाउनु हुँदैन र स्वतन्त्र रुपमा प्रदेश सभाले तय गर्ने छ।’
प्रदेशसभाको बैठकमा सहभागी सदस्यहरू।
अर्का सांसद कुसुमकुमार कार्कीले पनि हेटौँडा राजधानीको विपक्षमा मतदान गर्ने बताए। उनले भने, ‘हामी ३० भन्दा बढी सांसदले नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्दैनौँ, फ्लोरक्रस गरेर विपक्षमा मतदान गर्छौँ।’
प्रदेश तीनको राजधानी हेटौंडा राख्ने पक्षमा मुख्यमन्त्री डोरमणि पौडेललगायतका नेताहरू लागिपरेका छन्। नेकपा सचिवालयले निर्णय गरेर पठाएकाले त्यसमा क्रस गर्न नहुने नेकपाका केही सांसदको तर्क छ। प्रदेश ३ को अन्तिम बिन्दुमा रहेको हेटौंडा अस्थायी राजधानी हुने निर्णय यसअघि काम चलाउ सरकारले गरेको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले हेटौंडालाई अस्थाई राजधानी तोकेको छ।
हाल प्रदेशसभामा नेकपाको ८० सांसद छन्। सो मध्ये ३७ नेकपा सांसद पार्टी सचिवालयले गरेको निर्णयको विपक्षमा उभिएका छन् भने पक्षका सांसदको मतभार ४३ मा खुम्चिएको छ।
विपक्षमा रहेका नेकपा सांसदहरूले फ्लोर क्रस गरेको अवस्थामा नेपाली काँग्रेसलगायतका दलले सहयोग गर्ने तयारी गरेका छन्। प्रदेशसभामा नेपाली काँग्रेसका २२, राप्रपाका २, नेमकिपाका २, विवेकशील साझाका ३ र स्वतन्त्र १ सांसद हेटौंडाको विपक्षमा उभिने देखिएको छ।
उनीहरू सबै एक ठाउँमा हुँदा ६७ सांसद हेटौंडा राजधानी तोक्ने प्रस्तावको विपक्षमा हुनेछन्। त्यसको पक्षमा ४३ सत्तारुढ दलका सांसदमात्र हुनेछन्। पक्षमा बहुमत नपुग्दा यो निर्णय स्वतः बदर भई मतदानमार्फत् नयाँ स्थानमा टुङ्गाउनु पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।