बाजुरा– बाजुराको उत्तरी भेगमा रहेका ४ स्थानीय तहका साविकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर १ सातादेखि बिग्रीएको छ। टावरमा समस्या आइ टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।
साविकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा १ सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखा अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिए। उनले लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साविकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको बताए।
यसअघि टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्ट बिहान घाम नलागुन्जेलसम्म काम नगर्ने समस्या थियो। तर एक सातादेखि टावरमा खराबी आएर पूर्णरुपमा टेलिफोन सेवा अवरुद्ध हुँदा पनि कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताए। जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले आरोप लगाए।
बिग्रिएको टावर मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।