काठमाडौं- इटालियन सिरि ए फुटबलमा क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलमा युभेन्टसले काग्लियरीलाई पराजित गरेको छ।
सोमबार राति भएको खेलमा युभेन्टसले काग्लियरीलाई ४–० गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा रोनाल्डोले ह्याट्रिक गोल गरे। त्यस्तै, गोन्जालो हिगुइनले एक गोल थपे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गर्न सफल भयो। खेलको ४९औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। ६७औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए।
खेलको ८१औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाउँदा त्यसको १ मिनेट पछि नै खेलको ८२औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरे। उनले डउग्लास कोस्टाको पासमा लेफ्ट फुटेड सट प्रहार गर्दै गोल गरे। योसँगै युभेन्टसले काग्लियरीलाई ४–० गोलको जित निकाल्यो।
त्यस्तै, इटालियन सिरि ए मै भएको अर्को खेलमा इन्टर मिलानले नापोलीलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।
नापोली १८ खेलबाट ४५ अंक बनाउँदै लिगको शीर्ष स्थानमा छ। समान खेलबाट समान अंक बनाएको युभेन्टस लिगको दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।