काठमाडौं- भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आइतबार साँझ भएको आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
जेएयुकी पूर्व विद्यार्थी मानुषी यमी भट्टराईले त्यहाँ भएको आक्रमणको भर्त्सना गर्न र न्याय र सत्यको पक्षमा संघर्षरत विद्यार्थीहरुप्रति ऐक्यबद्धता जनाउन आफूहरु प्रदर्शनमा उत्रिएको बताइन्।
‘हिजो जुन घटना भयो, त्यो अचानक भएको होइन। नियोजित रुपमा र एउटा शृंखलाको रुपमा भएको हो’, उनले भनिन्, ‘सत्य, न्याय र आधारभूत मानवअधिकारको पक्षमा हामी यहाँ उभिएका हौं।’
उनले नेपालमा पनि मौलिक हकमाथि अंकुश लगाइने संकेतहरु देखिएको बताइन्।
प्रदर्शनमा जेएनयूका पूर्व विद्यार्थीका साथसाथै जेएनयूप्रति ऐक्यवद्धता जनाउने अन्यको सहभागिता रहेको थियो।
‘अहिलेको मोदी शासनलाई जेएनयूको विद्यार्थी युनियनले पनि फासीवादी भन्छ। त्यो फासीवादी सरकारको विरुद्धमा आन्दोलनहरु चलिरहेको छ। फरक मत राख्ने मान्छेलाई दबाउने कोसिस भारतमा व्यापक भइरहेको छ’, विश्लेषक तथा जेएनयूका पूर्व विद्यार्थी उज्ज्वल प्रसाईले भने, ‘त्यही सिलसिलमा जेएनयूभित्र विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ। हामी त्यो आक्रमणको निन्दा गर्छौं।’
.jpg)
त्यस्तै, जेएयूकै पूर्व विद्यार्थी अनुराग आचार्यले नेपालमा भएको प्रदर्शन जेएनयूका विद्यार्थीहरुको स्वरमा स्वर मिलाउने मात्रै नभएर नेपालमा खुम्चिँदै गएको अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा मत जायर गर्ने तयारी पनि भएको बताए।
‘हामी माइतीघरमा भेला भएको भारतमा रहेका विद्यार्थी साथीहरुप्रति ऐक्यवद्धता जायर गर्न मात्रै होइन। हाम्रो आफ्नो लागि पनि उभिन आएको हो’, उनले भने।
प्रदर्शनमा सहभागीहरुले ‘दमनले प्रजातन्त्रलाई गिज्याइरहेछ, हामी जेएनयूसँगै छौं, हामी अतिवादको विपक्षमा छौं’ लगायतको नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
आइतबार जेएनयू परिसरमा नकाबधारीहरु छिरेर विद्यार्थी तथा शिक्षकहरुमाथि आक्रमण गरेका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।