राजविराज– २०७३ फागुन २३ गते सप्तरीको मलेठमा भएको घटनापछि एक-अर्काप्रति कटु व्यवहार गर्दै आएका नेकपा (नेपाल कम्युनिष्ट पार्टी) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता–कार्यकर्ता सोमबार पहिलोपटक एउटै मञ्चमा भेला भएका छन्।
तत्कालीन नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा एमाले र मधेशवादी दलबीचको तनावका कारण सप्तरीमा ५ जनाले ज्यान गुमाएका थिए। त्यसपछि दुवै पक्षले एक अर्काको आलोचना गर्दै आएका थिए।
माघ ९ मा हुन लागेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नेकपा र राजपाले तालमेल गरेपछि प्रदेश २ वाट संयुक्त उमेदवार घोषणा गर्न सोमबार राजविराजमा दुवै पक्ष एउटै मञ्चमा भेला भएका हुन्। गत पुस २ गते राजपा–नेकपाबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न २ बुँदे सहमति भएको थियो।
कार्यक्रममा प्रदेश २ बाट राजपाका २ र नेकपाका २ जना राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेको घोषणा गरिएको थियो। राजपाले पार्टीका वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखर सिंहलाई उम्मेदवार वनाएको छ। यादव वोदेवरसाईन नगरपालिका ५, वरसाईनका हुन् भने सिंह तिलाठी कोईलाडी गाउँपालिकाको कोईलाडी निवासी हुन्।
यसैगरी, नेकपाले सर्लाहीकी तुलसा दाहाल र राधेश्याम पासवानलाई उम्मेदवार वनाएको छ। दाहाल नेकपाको प्रदेश कमिटि सदस्य हुन् भने पासवानले दलित समुदायको प्रतिनिधित्व गरिरहेका छन्।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले तराई–मधेशको समृद्धि र विकासका लागि राजपा–नेकपा गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताए।
नेकपा तथा राजपाका नेता, कार्यकर्ता तथा विभिन्न नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य गाोबिन्द न्यौपाने, मनिष सुमनलगायतले गठबन्धनका उमेदवारलाई विजय गराउन आग्रह गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।