काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आरामको लागि सिन्धुपाल्चोक पुगेका छन्। पार्टीका केही नेतासहित अध्यक्ष दाहाल सोमबार बेलुका सिन्धुपाल्चोक पुगेका हुन्।
दाहाल यसअघि पनि रिफ्रेसका लागि बेला बेलामा सिन्धुपाल्चोक जाने गरेका थिए। यस अघि प्रायः सुकुटेबिच रिसोर्टमा बस्ने गरेका अध्यक्ष दाहाल यसपटक भने रिसोर्टमा नबसी व्यक्तिको घरमा बसेका छन्।
अध्यक्ष दाहाल चौतारा साँगाचोकगढी नगरपालिका-९ कदमबासका स्थानीय नेकपा कार्यकर्ता बलराम गिरीको घरमा बास बसेको स्रोतको भनाइ छ। सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र तीव्र विवाद भइरहेको बेला अध्यक्ष दाहाल सुटुक्क सिन्धुपाल्चोक पुगेका हुन्।
अध्यक्ष दाहालका साथमा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटासहित केही केन्द्रीय नेताहरु रहेको स्रोतको दाबी छ। दाहालले त्यहाँ विशुद्ध आराम गर्नका लागि आएकाले पार्टीका कोही नेता कार्यकर्तासँग समेत नभेट्ने कार्यक्रम तय गरेका छन्।
दाहाल जिल्ला स्थित सुरक्षा समितिलाई समेत जानकारी नगराई सिन्धुपाल्चोक पुगेको जिल्लास्थित उच्च सुरक्षा निकायको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।