काठमाडौं- करिब १ करोडसहित प्रहरीले तीन हुण्डी कारोबारीलाई न्यूरोडबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नगद १३ लाख ५२ हजार र चेक ७८ लाख ९९ हजार गरी ९२ लाख ५१ हजारसहित तीन जनालाई सोमबार न्यूरोडबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं इन्द्रचोक बस्ने इजोन पसलका सेल्स स्टाफ ४० वर्षीय गोपाल अग्रवाल, सोही पसलका कर्मचारी ३१ वर्षीय भोला नेपाल, भोटेवहालमा रहेको एनएस ट्रेडर्सका सञ्चालक ३९ वर्षीय कमल अग्रवाल र जय दुर्गा ट्रेड इन्टरनेशनलका सञ्चालक सुनसरीको धरान-२ का ५३ वर्षीय नारायणकुमार अग्रवाल छन्।
प्रहरीले गोपाल अग्रवाल र नेपालको इजोन पसलबाट ९ लाख ५० हजार नगद र ६४ लाख ९९ हजार रुपैयाँ बराबरको चेक बरामद गरेको थियो।
त्यस्तै कमल अग्रवालबाट २ लाख नगद र १४ लाख बराबरको चेक र नारायण कुमारबाट २ लाख २ हजार नगद बरामद गरेको थियो।
उपत्यकाभित्र हुण्डी कारोबार गरी राजश्व छली गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले ह्वाट्सएप, विच्याटलाई कुराकानीको माध्यम बनाएर हुण्डी गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।