काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल बराबरी भएको छ। खेल सकिन दुई मिनेट बाँकी हुँदा मनाङका लागि बिमल रानाले गोल गर्दै २–२ को बराबरी गरेका हुन्।
दशरथ रंगशालामा खेलको दोस्रो मिनेटमा नै मनाङका लागि फेमी जोसुवाले गोल गर्दै अग्रता दिलाएका थिए। १–० ले अघि रहेको मनाङले ४६ औँ मिनेटमा गोल खाएको थियो।
सुजल श्रेष्ठले गोल गर्दै बराबरीमा ल्याएको मछिन्द्रका लागि ८१ औँ मिनेटमा सोमेडिक एडेलाजाले गोल गर्दै अग्रता दिलाएका थिए। तर अन्तिम ९ मिनेट सम्हालिन नसक्दा मच्छिन्द्र गोल खान पुग्यो र खेल बराबरी भयो।
रोमाञ्चक बनेको खेलमा मनाङका दीप कार्की र आदित्य चौधरीसँगै मच्छिन्द्रका बुद्ध राज लिम्बुले पहेँलो कार्ड पाएका थिए। मच्छिन्द्रले खेलमा ६६ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि केही अवसर गुमाउँदा शीर्षमा पुग्ने सम्भावनामा कमजोर देखियो।
बराबरीसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा नै रहन सफल भएको छ। मनाङ र मछिन्द्र दुबै अहिलेसम्म अपराजित छन्। दुवै लिग उपाधिको दाबेदार टिम हुन्।
लिगको शीर्ष स्थानमा रहेको मनाङको ५ खेलबाट ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक छ। अघिल्लो ३ खेलमा जित हात पारेको मनाङ फ्रेन्ड्स क्लबसँग भने १–१ गोलको बराबरीमा रोकिएको थियो। यसअघि मनाङले एपिएफलाई २–०, आर्मीलाई १–० र तेस्रो खेलमा भने मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
.JPG)
यता, दोस्रो स्थानमा रहेको मछिन्द्रको पनि समान ५ खेलबाट ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ। मछिन्द्रको १ अंक भने गएको वर्ष लिगको १३औं स्थानमा रहेको हुँदा काटिएको हो।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलको जित निकालेको मछिन्द्रले दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्सलाई ३–० र चौथो खेलमा न्यु रोड टिम (एनआरटी) क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।