प्रतिरोधको प्रेरणा स्रोत : जेएनयू

उज्ज्वल प्रसाई | २०७६ पौष २१ सोमबार | Monday, January 06, 2020 १४:३०:०० मा प्रकाशित

मलाई जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को विद्यार्थी (असफल) हुँ भन्दा गर्व लाग्छ। जेएनयूसँग जोडिएर गर्विलो महसूस गर्नुपर्ने धेरै कारण छन्। कुनै डिग्री लिन नसकेर निराश फर्के पनि त्यहाँ बस्दा पढेका किताब, गरेका संगत, पाएको वातावरण, सुनेका लेक्चर, सहभागी भएका प्राज्ञिक गतिविधिले अद्यापी मलाई बौद्धिक ऊर्जा दिन्छन्। जेएनयू बसाइबारे मेरा केही संस्मरण प्रकाशित छन्। तिमध्ये मैले आफूलाई ‘झेलम ३४७’ मा राम्रोसँग व्यक्त गरेको छु भन्ने लाग्छ।

जेएनयू विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालय होइन। उत्कृष्टताको बजारु मापनका आफ्नै समस्या छन्। यो विश्वविद्यालय स्वयंले त्यस्तो आत्मरति खासै गर्दैन पनि। भारतीय लोकतन्त्रपछि स्थापित लोकतान्त्रिक संस्थाहरुमध्ये एउटा सुन्दर संस्था भने पक्कै हो। त्यसो भन्नमा यो विश्वविद्यालयका विद्यार्थीले गर्व गर्छन्। कुनै पनि संस्था समस्यारहित हुँदैनन्, खोज्न थाले जेएनयूका पनि अनेकानेक कमजोरीहरु देखिनेछन्। तथापि भारतको विविधतालाई यो विश्वविद्यालयले वरण गरेको छ। जातीय, क्षेत्रीय, लैंगीक, वैचारिक विविधता यहाँ देख्न सकिन्छ।

कतिपयले बुझे जस्तो केवल रातो रंगले मात्रै होइन, विचार एवं बहसका अनेक रंगले सजाइएको थियो जेएनयू। भारतीय जनता पार्टी (भाजपा) सरकार र जेएनयू नेतृत्वले जेएनयूको गेरुवाकरण चाहेको छ। उसको त्यो प्रयत्न सफल हुन सजिलो छैन। कारण, जेएनयूका विद्यार्थी र शिक्षकहरु यो संस्थाको गरिमा बचाउन संघर्षरत छन्। चुपचाप सबै ताण्डव हेरेर बसेका छैनन्। आफ्नो कुत्सित प्रयत्न सफल हुन नसकेकोमा क्षुब्ध हुँदै भाजपाले निहत्था विद्यार्थी र शिक्षकमाथि भौतिक आक्रमण सुरु गरेको छ। किस्ता किस्तामा आतंक सृजना गरेर आम मानिसलाई जेएनयू संस्थाप्रति भयग्रस्त बनाउन खोजेको छ।

सके कब्जा गरेर सिंगो संस्थालाई हिन्दुत्ववादी बनाउने, नसके चरम विद्रुप बनाइदिने ताकि कसैले त्यहाँ जाने सपना नदेखुन्– भाजपा नेतृत्वको उद्देश्य स्पष्ट छ। भारतीय समाजलाई लोकतान्त्रिक बनाउनुपर्छ भन्ने जोकोही विद्यार्थीलाई देशद्रोही करार गरिएको छ। खुला चिन्तन गर्ने जोसुकै शिक्षक त्यस्तै आरोप र लाञ्छनाका सिकार भएका छन्। मोदी–सत्ताको धेरै आलोचना नगर्ने विद्वानहरु समेत पछिल्लो आक्रमणबाट दिक्क भएको बुझ्न सकिन्छ।

पछिल्लो पटक जेएनयू पुग्दा नै जेएनयूले आघात बेहोर्न थालेको महसुस भएको थियो। साबिक अवस्थामा हरेक साँझ जेएनयूका प्राय सबै ढाबा चलायमान देखिन्थे। समूह समूहमा बसेका विद्यार्थीहरु राजनीतिदेखि संस्कृतिसम्म, किताबदेखि सिनेमासम्म, धर्मदेखि प्रविधिसम्मका अनेक विमर्श गरेर चिया पिएको दृष्य यसै मनोरम देखिन्थ्यो। त्यसरी गफिएका बेला विभिन्न अध्ययन समूहका वा राजनीतिक संगठनका विद्यार्थीहरु त्यही बेलुका आयोजना गरिने प्रवचन कार्यक्रमका सेता पर्चा बोकेर आइपुग्थे। तिनै विद्यार्थीको निम्तोमा मैले बेलुका खाना खाइसकेपछि मेसमा बसेर शशि थरुरदेखि अरुन्धती रोयसम्म, आनन्द तेलतुम्बडेदेखि आशिष नन्दीसम्मलाई प्रत्यक्ष सुन्ने मौका पाएको थिएँ।

तर, पछिल्लो पटक म पुग्दा जेएनयूको हरियो फाँटमा मोदी–सत्ताको घुर्मैलो छाया परिसकेको थियो। त्यस्ता कार्यक्रम आयोजना गर्न विद्यार्थीलाई हतोत्साहित तुल्याइएको थियो।

म अन्तिम पटक त्यहाँ जाँदा विद्यार्थीले भित्तामा टाँसेका पुराना पोष्टर खुइलिन थालेका थिए। गजानन माधव मुक्तिबोधको कविता खुइलिएको थियो, बिआर अम्बेडकरको भनाई मेटिन थालेको थियो। नयाँ पोष्टर लगाउने ऊर्जा र जाँगर पनि विस्तारै कम भएछ कि जस्तो भान परेको थियो। केही महिनाअघि मात्र जेएनयूको सौन्दर्य प्रष्फुटित गर्ने ती सबै चित्रहरु निकाल्न आदेश भएको खबर पढेँ। म विश्वविद्यालयमा पुगेको पहिलो त्यही भित्तोमा पढेको एक पंक्ति वाक्य मेरो मस्तिष्कमा छापिएकै छ– ‘इफ पोलिटिक्स डिसाइड्स युर फ्युचर, डिसाइड व्हाट युर पोलिटिक्स सुड बि!’ अर्थात, राजनीतिले तिम्रो भविष्य निर्धारण गर्छ भने, तिम्रो राजनीति के हुने, निधो गर।

भित्तो चिल्याउने निर्णय विद्यार्थीको राजनीतिकरण गर्ने प्रक्रिया अवरुद्ध गर्ने प्रयत्न हो।

जेएनयूका रंगीन पर्खाल र त्यहाँको जीवन्त वैचारिक घर्षणबाट प्रेरित भएर मैले मेरो राजनीति निर्धारण गरेको हुँ। म लोकतन्त्र र समताको पक्षमा छु। चाहे विकास र समृद्धिका नाममा होस वा राष्ट्रवादका नाममा, लोकतन्त्र र समताको खिलाफमा गरिने राजनीतिको म विरोध गर्छु। चाहे भारतमा होस् वा चीनमा, अमेरिकामा होस् वा रुसमा, लोकतन्त्रद्वेषी शासनको आलोचना गर्छु। यस्तो पक्षधरतामा म एक्लो छैन, यस्तो महसुस गर्न पनि म जेएनयूका ती दिन सम्झिरहन्छु।

भारतलाई फासिवादबाट जोगाउने अभियानमा जुटेका सबै युवा जेएनयूलाई सम्मान गर्छन्, त्यसले कायम राखेको प्रतिरोधी चेतनाबाट प्रेरित हुन्छन्। नेपालमा समेत फासिवादका संकेत देखिन थालेका छन्। 'नेपाल साप्ताहिक'ले आफ्नो सम्पादकीयमा प्रयोग गरेको ‘नियन्त्रित गणतन्त्र’ आँफैमा त्यही संकेतको नरम अभिव्यक्ति हो। प्राध्यापक चैतन्य मिश्रहरुले ओली–सत्ताका आलोचकलाई शब्दको फुर्मस गरेको वा ज्यादा नकारात्मक भएको आरोप लगाए पनि, नेपाललाई फासिवादमा जाकिन नदिन सचेत प्रयत्न थाल्ने बेला भइसकेको छ। जेएनयूमा भएको भाजपा–आक्रमणलाई डटेर सामना गरिरहेका विद्यार्थीबाट प्रतिरोधको प्रेरणा लिनु श्रेयस्कर हुन्छ।

प्रसाईको ब्लगमा प्रकाशित