काठमाडौं- न्युजिल्यान्डसँगको ३ खेलको टेष्ट क्रिकेट सिरिजको शृंखला घरेलु टोली अष्ट्रेलियाले क्लिन स्विप गरेको छ।
सोमबार सम्पन्न तेस्रो टेष्टमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २७९ रनले पराजित गर्दै ३–० ले सिरिज आफ्नो पक्षमा पारेको हो। ४१६ रनको चुनौती पछ्याउँदै दोस्रो पारी थालेको न्युजिल्यान्डले सबै विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सकेपछि अष्ट्रेलियाले फराकिलो जित निकालेको हो।
न्युजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले ५२ रन बनाउन बाहेक अन्य खेलाडीले उच्च स्कोर नै बनाउन सकेनन्। बलिङतर्फ अष्ट्रेलियाका नाथन लियोनले ५ र मिचेल स्टार्कले ३ विकेट लिए।
यसअघि न्युजिल्यान्डले पहिलो पारीमा सबै विकेटको क्षतिमा २५६ रन बनाएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४५४ रन बनाउँदा सबै विकेट गुमाएको थियो। अष्ट्रेलियाको ठूलो स्कोरमा मार्नस ल्याबुस्च्याग्नले दोहोरो शतक बनाए। उनले २१५ रन बनाएका थिए। त्यस्तै, स्टेभन स्मिथले ६३ रन बनाए।
अष्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २ विकेटको क्षतिमा २१७ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो। योसँगै न्युजिल्यान्डले ४१६ रनको लक्ष्य पाएको थियो। दोस्रो पारीमा डेभिड वार्नरले शतक बनाए।
यसअघि भएको पहिलो टेष्टमा अष्ट्रेलियाले २९६ र दोस्रो टेष्टमा २४७ रनले न्युजिल्यान्डलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।