काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मनाङ र मछिन्द्र दुबै टिम पाँचौ राउण्डसम्म आइपुग्दा अपराजित रहेका टिम हुन्। दुबै टिम उपाधि जित्ने लक्ष्यमा छन्। मनाङ र मछिन्द्रको खेल महत्वपूर्ण हुने कारण उपाधिको दाबेदारी मात्र होइन दुई टिममा रहेका खेलाडी पनि हुन्। मछिन्द्र क्लबमा मनाङबाट गएका अधिकांश खेलाडी छन्।
कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, हेमन गुरुङ, एडिलजा सोमिडे, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङ छाड्दै मछिन्द्र क्लबमा अनुबन्धित भएका हुन्।
योसँगै मनाङमा दोस्रो रोजाईंका खेलाडीहरु मात्रै टिममा भयो। त्यहि खस्किएको टिमसँग बलियो प्लेइङ सेट बनाएको मछिन्द्र क्लबले तीन अंक प्राप्त गर्नका लागि मनाङसँग प्रतिस्पर्धा गर्न लागेको हो।
आफ्नै पूर्व टिमविरुद्ध प्रतिस्पर्धा गर्दा कप्तान विराजसहित अन्य खेलाडीलाई सहज भने हुने छैन। यता, मनाङ भने खेलाडी लगेको रिस फेर्नका लागि भए पनि इखले खेल्नेछ।
लिगको शीर्ष स्थानमा रहेको मनाङको ४ खेलबाट ३ खेलमा जित र १ खेलमा बराबरी खेल्दै १० अंक छ। अघिल्लो ३ खेलमा जित हात पारेको मनाङ फ्रेन्ड्स क्लबसँग भने १–१ गोलको बराबरीमा रोकिएको थियो। यसअघि मनाङले एपिएफलाई २–०, आर्मीलाई १–० र तेस्रो खेलमा भने मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

यता, दोस्रो स्थानमा रहेको मछिन्द्रको पनि समान ४ खेलबाट ३ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ९ अंक बनाएको छ। मछिन्द्रको १ अंक भने गएको वर्ष लिगको १३औं स्थानमा रहेको हुँदा काटिएको हो।
पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलको जित निकालेको मछिन्द्रले दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो। तेस्रो खेलमा फ्रेन्ड्सलाई ३–० र चौथो खेलमा न्यु रोड टिम (एनआरटी) क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
आजको खेलमा भने मनाङको लागि केही फाइदा पुग्नेछ। मनाङका फरवार्ड अञ्जन विष्टले खेल्ने छन्। ‘डिस्को काण्ड’ मा पुछिएका अञ्जन ४५ दिनको प्रतिबन्धपछि मैदानमा फर्किंदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।