उर्लाबारी- राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जिपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद भएको बताएकी छन्।
उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताइन्।
राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवर्द्धनको अपेक्षा आफूले गरेको स्पष्ट पारिन्। राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुुन्।
संग्रहालयले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिइन्। 'मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ,' उनले भनिन्, 'यसको संरक्षण र सम्वर्द्धन गर्दै सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ।'
नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो। संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएका छन्। रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।