काठमाडौं- सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले एपिएफ क्लबलाई पराजित गरेको छ।
इनरुवा क्रिकेट मैदानमा प्रतियोगिताअन्तर्गत समुह ‘ए’ को खेलमा आर्मीले एपिएफलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
आर्मीले दिएको २८२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपिएफले ३९.३ ओभरमा सबै विकेटको क्षतिमा १७३ रन मात्रै बनाउन सक्यो। एपिएफका लागि पृथु बास्कोटाले ३६, शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३–२३ तथा कप्तान बसन्त रेम्गीले १७ रन बनाए।
बलिङतर्फ आर्मीका शाहब आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल मल्लले २ तथा बिक्रम सोब, सुशन भारी र भीम शार्कीले समान १–१ विकेट लिए।
कुशलको पहिलो शतक
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रन बनाएको थियो। आर्मीका लागि कुशल मल्लले प्रतियोगिताकै पहिलो शतक बनाए।
उनले ६३ बलमा १३ छक्का र ५ चौकाको मद्दतमा १११ रन बनाए। त्यस्तै, अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८ र रोहित कुमार पौडेलले २१ रन बनाए।
बलिङतर्फ एपिएफका कप्तान बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिदा अमरसिंह रौटेलाले २ विकेट लिए।
प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा सोमबार एपिएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाबीच प्रतिस्पर्धा हुनेछ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।