फाइल तस्बिर
काठमाडाैं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे केन्द्रीय कमिटी बैठक सरेकाे छ।
पुस २३ का लागि तय भएकाे केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने गरी सरेकाे हाे।
प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेकाे हाे। राष्ट्रियसभाको निर्वाचनकाे तयारी गर्नुपर्ने भएकाले बैठक सारिएको नेकपाले जनाएकाे छ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।
नेकपाको विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्छ। तर, २०७५ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको छैन।
०७५ जेठ १० मा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि सबै केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता र माइन्युट तयार गर्न बैठक बसेको थियो। बैठकमा अध्यक्षद्वयद्वले सम्बोधन गरेका थिए। पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएपछि मुखरित भएको आलोचनालाई ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। उनले महाधिवेशनपछि ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्ने बताएका थिए। तर, त्यसपछि भने बैठक बसेको थिएन।
नेकपाका नेताहरुले बेलाबेलामा बैठक बस्नुपर्ने माग उठाएता पनि अध्यक्षद्वयले बेवास्ता गर्दै आएका थिए।
पछिल्लो स्थायी समितिमा बैठकबाट केन्द्रीय कमिटी बैठकको मिति तय गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।